प्रधानमन्त्री ओलीले बाचा पूरा गरेनन्, जिउँदो शहीद मुकेशको उपचारमा आर्थिक संकट
प्रकाशित २०७५ मंसिर १६ आइतबार
490
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाचा पूरा नगर्दा जिउँदो शहीद मुकेश कायस्थको उपचारमा आर्थिक संकट लागेको छ । ओलीले मुकेशको उपचारका लागि पाँच लाख रुपैयाँ दिने बचन दिएका थिए ।
अहिलेसम्म उक्त रकम पनि कुनै निकायबाट प्राप्त नभएको उनको परिवारले जनाएको छ । सरकारी अस्पतालमा मुकेशको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको भए पनि सरकारी अस्पतालमा उक्त सेवा नपाइएको परिवारको गुनासो छ ।
जनआन्दोलन २०६२–०६३ का घाइते मुकेशलाई सरकारले ‘जिउँदो शहीद’ घोषणा गरेको थियो । मुकेशलाई केही दिनअघि नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
एकसाता अघि वीर अस्पतालमा शल्यक्रिया सम्भव नभएपछि मुकेशलाई मेडिसिटी भर्ना गरिएको हो ।
अर्धचेत अवस्थामा रहेका मुकेशको वीर अस्पतालमा गरिएको पहिलो शल्यक्रियाका क्रममा उनको टाउकोमा राखिएको भिपिसन्ड (टाउकोमा जम्मा भएको पानी पेट हुँदै बाहिर पठाउने पाइप) फेर्न अस्पताल भर्ना गरिएको हो ।