काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना एक हप्ता भइसकेको छ । सरकारले अहिलेसम्म बलात्कारी र हत्यारा पक्राउ गरेको छैन ।
नागरिक समाज यतिबेला फेरि तातेको छ हत्यारा पक्राउ गरी कार्वाही गर्न सरकारलाई दबाब दिनका लागि ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार राजधानीमा सामाजिक सुरक्षा कोषको कार्यक्रममा अब सरकार जहींतहीं देखिन्छ भन्दै विपक्षीहरुलाई जिस्क्याएका मात्र थिएनन् सरकारको उपस्थिति कतै नभएको अवस्थामा स्पष्टिकरण समेत दिएका थिए ।
जताततै केपी ओलीका तस्वीर रहेका पोष्टर टाँसेर जिस्काएको सरकारको यो रबैयाप्रति एकाएक नागरिक समाज तातेर निर्मला पन्तबारे निर्मलाको तस्वीरसहितको पोष्टरमा लेख्यो – सरकार भेटियो न्याय भेटिएन ।
तर सरकारले फेरि अर्को रबैया अपनाएको छ कि त्यस्ता निर्मलाका टाँसिएका पोष्टर हटाउने ।
सरकारले काठमाडौं, पोखरा, विराटनगर, दमौली लगायतका स्थानमा त्यस्ता पोष्टर रातारात च्यातेको छ । प्रहरीले रात लगाएर त्यस्ता पोष्टर च्यातेको हो ।
पोष्टर च्यातेर आन्दोलन नरोकिने भन्दै त्यसलाई झन् सशक्त पार्ने संघर्ष समितिले समेत अडान लिइसकेको छ ।
सरकारको यो रबैयाको सामाजिक संजालभर निकै विरोध भइरहेको छ ।
सरकारले निर्मला हत्याकाण्डबारे सत्यतथ्य पत्ता लगाउने भन्दै विभिन्न समिति बनायो । तर सुरुवातका समितिले काम राम्रो गरिदिएनन् भने पछिल्लो समितिले प्रतिवदेनसमेत बुझाउन सकेको छैन ।
सरकार नै एकढिक्का भएर यो घटनालाई दबाउन खोज्दा सरकारकै कसैबाट यो अपराध भएको त छैन भन्ने आशंका सर्वसाधारणको छ ।