सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले भूमिका खेल्ने
प्रकाशित २०७५ मंसिर १६ आइतबार
636
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताएका छन् ।
‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट गरे । नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।
भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिए ।
सार्क मुलुकबीच आपसमा युद्ध र द्वन्द्वभन्दा पारस्परिक सम्बन्ध र लगानी विस्तार गर्नुपर्नेमा पनि उहाँहरूको समान मत थियो । भेटमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए ।
प्रधानमन्त्री ओलीसँग शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहेका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले आजै शिष्टाचार भेट गरेका छन् ।
पास्त्रानाले आफ्नो मुलुक पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढिरहेका सन्दर्भमा नेपालको शान्ति प्रक्रियाको सफलता तथा प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सोचबाट प्रभावित भएको जनाएको डा भट्टराईले जानकारी दिए। दुई देशबीच व्यापार र लगानीका साथै कूटनीतिक सम्बन्ध विस्तार गर्न पनि उनिहरूबीच छलफल भएको थियो । रासस