arrow

थापा, जबरा र लोहनीको पार्टी एक हुँदै

‘युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारनै लागिपर्यो, यो आपत्तिजनक छ’

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
thapa-jabara-lohani.jpg

काठमाडौं। एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीबीच एकताको छलफल चलिरहेको छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले तीनवटै राप्रपाबीच एकता भयो भने ठूलो शक्ति हुने दाबी गरे । उनले भने,‘तीनवटै राप्रपाबीच एकताको प्रयास भएको हो । तर, फ्रेमवर्क डकुमेन्ट बनाउन उहाँहरु मान्नुभएन् । त्यही भएर एकता भएन् । तर, हामी र पशुपतिजीबीच छलफल भैरहेको छ । कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरुपनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ । सम्भवतः अब एक साताभित्र एकता हुन्छ ।’

उनले कमल थापा नेतृत्वको राप्रपासँगपनि एकताको लागि आफूहरु खुल्ला रहेको सुनाए । उनले भने,‘राप्रपाका असन्तुष्ट साथीहरुसँगपनि हाम्रो लगातार छलफल भएको छ । हामी सकेसम्म चाँडै एकता गर्छौं ।’

डा. लोहनीले काठमाडौंमा आज सम्पन्न हुने ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै आपत्ति जनाए । त्यस्तै उनले यो कार्यक्रमको तामझामको लागि कमसेकम दुई करोड खर्च सरकारले गरेको आरोप लगाए । उनले भने,‘डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ ।’ सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो भन्दै उनले प्रश्नसमेत तेर्साए ।

डा. लोहनीले भने,‘नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठूलाबडाका दम्पतिसहित आशीर्वाद लिने काममा सिमित रहेको देखिन्छ । युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो ।’

दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० दम्पतिलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य रहेको डा. लोहनीको टिप्पणी छ ।

उनले प्रधानमन्त्री, मन्त्री तथा नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरुले आर्शिवाद नै लिनुपर्ने भए नेपालकै लामा गुरु, मनकामनाका पुजारी, पशुपतिनाथका मुल भट्ट र जनकपुरको जानकी मन्दिरका महन्थबाट लिए हुने नि भन्दै नेपालका अगुवाहरुले यसरी आर्शिवाद लिएकोमा आपत्ति जनाए ।

उनले भने,‘अब उनीहरुपनि त्यही संस्थाको परिवार भए । प्रकारान्तरले यो सम्मेलनले ईशाईलाई बढावा दिएको छ ।’ आफू धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने व्यक्ति भएको सुनाउँदै उनले यो सम्मेलन नेपालको संविधानविपरित पनि रहेको जिकिर गरे । उनले भने,‘वर्तमान प्रधानमन्त्री ओलीजीले नेपालको संविधानलाई चूनौति दिने काम गर्नुभयो । अमेरिकालगायत अन्य देशमा यो संस्थाले कम्युनिष्टहरुको विरुद्धमा पैसा लगानी गर्दै आएको छ । तर, त्यही संस्थाको पक्षमा यो कम्युनिष्ट सरकार किन उभियो ? मलाई आश्चर्य लागेको छ।’


नेपाल सरकारले विवादस्पद संस्थाको बजारीकरण र बढावा दिन, र उनीहरुको हातबाट आर्शिवाद लिने काम किन गर्यो भन्दै लोहनीले पटक–पटक प्रश्न समेत तेर्साए । उनले अझै प्रश्न गरे,‘कतै नदेखिनेगरि उनीहरुबीच लेनदेन त भएको छैन ? कतै नदेखिनेगरि नेपालको राष्ट्रियता, गरिमा र अस्मिता बेचबिखन त भएन ?, त्यही भएर हाम्रो पार्टीले सम्मेलनमा भाग नलिएको हो । हामी सरकारले आयोजना गरेको भोजमा पनि सहभागी भएनौं ।’

वर्तमान सरकारसँग स्पष्ट दृष्टिकोण र चिन्तन नदेखिएको उनको गम्भिर आरोप छ । उनले भने,‘सरकार लहडमा चलेको छ । मन्त्री तथा प्रधानमन्त्रीबाटै यस्तो कार्यक्रमलाई प्रोत्साहन भएको छ । जनताले दिएको विश्वास दुरुपयोग भएको छ ।’ सरकारले यो ९ महिनामा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि उनको अर्को आरोप छ ।

उनले भने,‘प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सक्नुभएन वा उहाँले नियन्त्रण नै गर्न चाहनुभएन् । सक्नुभएन भनौं भने दुई तिहाईको बहुमत छ । तर, भ्रष्टाचार व्यापक बढेको छ।’ साँढे ३३ केजी सुन तस्करी प्रकरण कहाँ पुग्यो भनेर उनले प्रश्नसमेत तेर्साए । उनले भने,‘यही तरिका हो भने अब भ्रष्टाचार नियन्त्रण हुने स्थिति छैन् ।’

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा उनले सरकारले आलोचना गरे । उनले भने,‘न्याय चाहियो भनेर पोष्टर टाँस्यो कि सरकारले बल प्रयोग गरेर च्यातिदिने काम गरेको छ । यो सरकारकोलागि लज्जास्पद कुरा हो । यसले त मुलुकको असुरक्षाको विम्ब नै देखाएको छ । सरकारले मुलुकको शान्ति, सुरक्षाको उपेक्षा गरेको छ ।’

सरकारको काममा पनि व्यापक ह्रास आएको उनको भनाई छ । उनले भने,‘सरकारी क्षमता घटेको छ । मन्त्रीहरु लगामविहीन भएका छन् । राष्ट्रपतिलाई कसैलेपनि साईकल चढेर हिँड्नुहोस भनेर भनेको छैन् । तर, सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले के अब राष्ट्रपतिले साईकल चढेर हिँड्नुपर्ने हो भनेर अभिव्यक्ति दिनुभयो । राष्ट्रपतिलाई किन यति महँगो गाडी चाहियो ? अमेरिकाको राष्ट्रपतिलेजस्तो १८ करोडको महँगो गाडी किन चढ्नपर्यो ? हाम्रो राष्ट्रपति कुन ब्याकग्राउण्डबाट आउनुभएको हो र  यत्रो महँडो गाडी चढ्नुपर्ने ? अब गाडीमात्रै हो र अरु के के चाहियो भनिएको छ । अब छाडा मन्त्री भएपछि के भन्ने ?’

त्यस्तै उनले राष्ट्रपतिलाई अहिले बसेको ठाउँ किन साँघुरो भएको भनेर प्रश्न तेर्साए । उनले थपे,‘अहिले पनि १५० रोपनी छँदैछ, तर अब अझै १९३ रोपनी चाहिने अरे ? पहिलेको राजामहाराजाभन्दा ठूलो दरबार चाहिने ? यो गरिब देशलाई धनी देखाउनकै लागि हो जस्तो लाग्छ ।’

उनले जनताले विश्वास गरेर वर्तमान सत्तारुढ दल नेकपालाई दुई तिहाई मत दिएको तर अब यस्तै भयो भने सँधै दुई तिहाई छ भन्ने नहुने भन्दै सचेत गराए ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ