केपी ओलीको नेतृत्वमा 'सांस्कृतिक अधपतन र नग्नताको राष्ट्रिय परेड प्रदर्शन'
प्रकाशित २०७५ मंसिर १६ आइतबार
849
Shares
काठमाडौं । नेकपा नेता घनश्याम भुसालले केहीदिनदेखि नेकपाका नेताहरुको चरित्रप्रति आफ्नो गम्भीर असहमति व्यक्त गरेका छन् । दक्षिण कोरीयाको विवादित संस्था एशिया प्यासिफिकको कार्यक्रममा सरकारको उठबसको विषयमा संकेत गर्दै नेता भुसालले यस्तो असहमति जनाएका हुन् । उनले केही दिनदेखि देखिएको सांस्कृतिक अधपतन र नग्नताको असर दरसन्तानले भोग्नु पर्ने बताएका हुन् ।
उनले शुक्रबार सबै विदेशी पाहुनाहरु घर फर्किएपछि सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोख्दै भनेका छन् 'विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ ।'
तीब्र आलोचनाका बीच पनि नेकपा एमालेका नेताहरुले क्रिश्चियन धर्मको प्रचारको लागि यस्तो कार्यक्रम गरेपछि उनीहरु अहिले तीब्र आलोचित भईरहेका छन् । एउटा खास धर्म र सम्प्रदायको मतियार बनेर वर्तमान नेकपा सरकारले राज्यको कुनै जात, धर्म वा सम्प्रदाय हुँदैन भन्ने धर्म निरपेक्षताको सिद्धान्तको समेत खिल्लि उडाएको भन्दै तीब्र आलोचना भोगिरहेको ओली सरकार जनताको भावना मारेर क्रिश्चियन धर्मको प्रचारमा लागेका हुन् ।
मङ्सिर १५ र १६ गते हायात रिजेन्सी होटलमा आयोजना हुने एशिया प्यासिफिक सम्मेलनको निमन्त्रणा कार्डमा युनिभर्सल पीस फेडेरेसनअन्तर्गत सरकार र संसद् सहआयोजक रहेको उल्लेख छ । फेडेरेसनको लोगोमुनि नेपाल सरकार र सङ्घीय संसद्को लोगो राखिएको थियो । यसको तीब्र विरोध भएपछि आयोजक संस्थाले सरकार र संसद्को लोगो हटाएको थियो । निमन्त्रणा समितिको अध्यक्षमा नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लेखिए पछि यो विवादमा नेपाल पनि मुछिएका छन् ।
आईतबार मात्रै नेपाली काँग्रेसले दोस्रो पटक सरकारको यो कदम प्रति गम्भीर आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सम्मेलनमा सरकारको संलग्नता संविधानविपरीत भएको र राज्यको साधन एवं स्रोतको दुरुपयोग भएको भनी दुःख व्यक्त गरेको जानकारी दिए।