वैदिक ज्ञानबारे मन्थन गर्न ४० गुरुकुलका आचार्य तथा प्रतिनिधि एकै ठाँउमा
इन्दु पूर्वेली,
प्रकाशित २०७५ मंसिर १७ सोमबार
914
Shares
विर्तामोड । योग, भावातीत ध्यान र वैदिक यज्ञयागादिले पार्ने सकारात्मक प्रभाव यसको विस्तारको आवश्यकता बारेमा छलफल गर्न प्रदेश नम्बर–१ लगभग ४० वटा गुरुकुल ब्यवस्थापन समितिका अध्यक्ष, गुरुकुलका आचार्य तथा प्रतिनिधि र ध्यान शिक्षकहरुको भेला झापाको विर्तामोडमा सोमबार शुरु भएको छ ।
महर्षि फाउण्डेशन फर वैदिक कल्चर नेपाल र राष्ट्रिय गुरुकुल शिक्षा परिषद झापाको संयुक्त आयोजनामा विर्तामोडको अग्रसेन भवनमा दुईदिनसम्म सञ्चालन हुने सो भेलामा महर्षि वैदिक फाउण्डेशनले देशभर गर्दै आएको वैदिक रुद्राभिषेक महायज्ञ, योग र भावातीत ध्यानको प्रभाव र विस्तारको आवश्यकताबारे छलफल गरिने भएको हो ।
उक्त प्रदेशस्तरीय भेलाको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि ब्यासाचार्य किशोरकुमार गौतमले दलगत बहकाउ र सामाजिक सद्भाव विथोल्नेसँग सचेत रहँदै आ–आफ्ना गुरुकुलमा वैदिक संस्कार र संस्कृतिको अक्षरशः पालनासहित पठन–पाठन गराउन आग्रह गरे।
‘भावातीत ध्यान शास्त्रीय ध्यान हो, महर्षि वैदिक फाउण्डेशनको अगुवाईमा २०७० सालदेखि पूर्वदेखि पश्चिम नेपालसम्म एकैपटक वैदिक यज्ञमार्फत वेदध्वनी गुञ्जिएकै कारण नेपालमा शान्ति स्थापना भएको हो’–ब्यासाचार्य गौतमले भने–वेदध्वनीले हत्या, हिंसा र आपराधिक कार्य नियन्त्रण गर्ने ताकत राख्छ, समुन्नति प्राप्त हुन्छ । वैदिक संस्कारमा दत्तचित्त भए चिताएको वस्तु प्राप्त गर्न कठिन छैन ।’
नेपाल महर्षि वैदिक फाउण्डेशनका एसिया प्रमुख डा. किङ्स्ली ब्रुकले ब्रह्मानन्द सरस्वतीले महर्षि महेस योगीजीलाई गरेको मार्गदर्शन र उनकै जस्तो अनुशासनमा बसेर यज्ञयागादि, योग र भावातीत ध्यान गर्नाले वैदिक सभ्यताभित्र चाहेको वस्तु प्राप्त हुने उद्घोष गरे।
‘म १९ बर्षको हुँदा महर्षि महेश योगीजीसँग भेट भएको थियो, त्यसैबेला मैले भावातीत ध्यान सिकें र वैदिक संस्कृतिकै क्षेत्रमा काम गरिरहेको छु’–एसिया प्रमुख ब्रुकले भने–‘तपाईंहरु आफ्ना सन्तति पश्चिमा राष्ट्रमा नपठाउनुस्, बरु वैदिक कल्चरको अभ्यासबाट यहीदेखि विश्वमा रामराज्य स्थापित गर्नुस् ।’ रामराज्यमा वैदिक संस्कार संस्कृतिको प्रवद्र्धन हुने, शान्ति र स्थायित्व हुने तथा सबै जनता सुखी र खुशी रहने उनको धारणा छ ।
महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महर्षि महेश योगीजीले आफूसँगको भेटमा भएका प्रसङ्गहरु उठाउँदै भने–‘महर्षि महेश योगीजीले विश्वमा भएका द्वन्द्व, त्यसको समाधानका लागि भएका सम्झौता र सहमति, त्यसपछि फेरि बल्झिएको युद्ध आदिले राजनीतिक नेतृत्व असफल भइसकेको छ भने। उनको प्रष्ट विचार थियो–वैदिक संस्कृति अनुकुल यज्ञयागादिले मात्रै दीगो शान्ति स्थापना हुन्छ । भारतबर्षका बासिन्दामा मात्रै वेदको सही उच्चारण गर्ने शक्ति छ, त्यसैले वैदिक संस्कृतिको पालना र विस्तार गर्न सके महर्षि महेस योगीजीले भनेजस्तै नेपालले विश्वको नेतृत्व लिन सक्छ ।’
उनले आफूहरुले फाउण्डेशनमार्फत कर्मकाण्डका लागि मात्रै यज्ञ नथालेको स्पष्ट पार्दै विश्व शान्तिका लागि वैदिक यज्ञ थालेको दावी गरे । वास्तु विज्ञानको अज्ञानताले बनिएका घर तथा विभिन्न भौतिक संरचनाले नकारात्मक ऊर्जा उत्पादन हुने र त्यसले मानिसको समग्र उन्नतिमा असर पुर्याउने बताए। सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा ल्याए पनि त्यसलाई साकार पार्न कुनै पनि कार्यक्रम सार्वजनिक नगरेको टिप्पणी गरे।
कार्यक्रममा गुरुकुल शिक्षा परिषद झापाका अध्यक्ष डिल्लीराम दाहाल, पाणिनी संस्कृत विद्यालय विराटनगरका प्राध्यापक कविराज न्यौपाने, पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक सोमनाथ खतिवडा, तिलक गिरी, दामोदर न्यौपानेलगायतले शुभकामना मन्तब्य राख्दै सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेर इशाई धर्मको प्रचारमा लाग्नु खेदजनक भएको टिप्पणी गरे।
महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सप्तऋषि गुरुकुलका आचार्य लक्ष्मी खनालले र सञ्चालन गुरुकुल शिक्षा परिषद झापाका सचिव खगेन्द्र घिमिरेले गराएका थिए । कार्यक्रममा सप्तऋषि गुरुकुलका विद्यार्थी बटुकहरुले संस्कृतभाषाको गीतमार्फत सहभागीलाई स्वागत गरेका थिए ।