काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले, ३ दिनपछि पहिलो ट्वीट गरेका छन्। ३० नाभेम्बरमा हाम्रो मातृभूमी नेपाल हिमबतखण्ड, हिमाली भेगः प्रज्ञाको प्राचिन झरनाको श्रोत र व्यवहारिक ज्ञान गहन चिन्तनको मुहान के के भन्दै ट्वीट गरे। त्यसपछिका केही दिन त उनी सरकारी कुटी बालुवाटार छाडेर होटल सोल्टीतिरै बिताए। ३ दिनपछि समाजिक संजालमा झुल्एिर ट्वीट गरेका ओलीले चार दिनअघि नै दिवंगत अमेरिकी पूर्व राष्ट्रपति जर्ज एचडब्ल्यू बुश परिवार, सरकार र अमेरिकीजनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
सोमबार दिउँसो साढे ३ बजेतिरको ओलीको ट्वीटमा पूर्व राष्ट्रपति बुशको निधन भएको थाहा पाउँदा स्तब्ध भएको उल्लेख गरेका छन्। एउटा मुलुकको सरकार प्रमुखको अर्को मुलुकका पूर्व कार्याकारीको निधनमा ४ दिनपछि समवेदना ? के भने होलान् बुश परिवारले, अमेरिकी सरकार र जनताले ? प्रधानमन्त्री ओलीको बी लेटेड समवेदना सन्देशमा १ सय जनाभन्दा बढीले लाइक समेत गरेका छन्।
सस्तो प्रचार र पदकमा समेत लोभ ?
काकताली, ट्याक्टिस, भाग्य (अब त भन्नपनि पर्ने भो), मेहनत जे होस् उनी मुलुककै ठूलो दलको अध्यक्ष बनिसकेका छन्। दुई दुईपल्ट प्रधानमन्त्री बनिसकेका छन्। राजनीतिक हिसाबले अब माथि जाने ठाउँ छैन। आर्थिक हिसाबले पनि उनी राजधानीको रैथाने बनिसकेका छन्। तेह्रथुमदेखि झापा र भक्तपुर बालकोटसम्मको यात्राको हिसाब गर्ने हो भने, आम नेपालीको हैसियतभन्दा धेरै माथि पुगिसकेका छन् आर्थिक सम्पन्नताको हिसाबले।
उपचारका लागि विदेश जानुउनका लागि पानी पँधरो नै छ। यति ठूलो उपलब्धी पाइसकेको मान्छे सस्तो प्रचार र पदकउदकमा रमाउन पर्ने नै थिएन, होइन। तर आफ्नै पार्टीका नेता कार्यकर्ताको समेत चित्त काटिने गरी क्रिष्चियन धर्माबलम्बीको एउटा संस्था युनिभर्सल पिस फाउण्डेशनको प्रमुख अतिथि बन्छन्, स्वघोषित जिससकी छोरी हाक जान हान मुनको आशिक थाप्न उद्दत हुन्छन्।
भ्रष्टाचार, महंगी, कालोबजारी, हत्या, हिंसा, बलात्कार काण्डले मुलुक जर्जर बनेको छ। सुशासनमा ओली सरकारले के कति काम गरेको छ, त्यो जनताले मूल्यांकन गर्ने हो। तर त्यही पिस फाउण्डेशनले सुशासन र लोकतन्त्रको नेतृत्व गरेको भन्दै लिडशिप एण्ड गुड गभनेन्स अवार्ड भन्दै एक लाख डलरको तक्मा भिराउँछ, प्रधानमन्त्री ओली नाक फुलाउँछन्। नेपालको लोकतन्त्रका लागि ओलीले गरेका काम अरु भन्दा उनकै पार्टी समकक्षी पुष्पकमल दाहाल प्रचण्डका एकाध वर्षका अभिव्यक्ति सुन्दा पुग्छ।
मुलुकमा कुनै सभासम्मेलन, कार्यक्रम घोषणा हुँन पाउँदैन, गरीब जनताले गास काटेर दिएको करबाट सडकका पोल पोलमा तस्वीर झुण्ड्याउन लालायित हुन्छन्, सरकारको उपस्थिति देखाउने नाममा। अनि न्याय माग्दा निर्मलाहरुका पोष्टर च्यातिन्छन्, न्याय माग्नेहरु प्रहरी हिरासतमा कोचिन्छन्। आखिर मेरो प्रधानमन्त्रीलाई भएको छ चाहिँ के ? के हुन लागेको छ यस्तो?