समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिन सक्ने व्यवस्था
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
1k
Shares
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरिछाडेको छ । सोमबार अबेरसम्म बसेको बैठकले स्थानीय तह र प्रदेशमा निजामति कर्मचारीको समायोजन गर्न अध्यादेश स्वीकृत गर्दै प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गरेको हो ।
सरकारले पठाएको अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउनेछ ।
जस अनुसार यही साता मन्त्रालयले समायोजनमा जानका लागि कर्मचारीलाई सूचना प्रकाशन गरि प्रक्रिया थाल्ने जनाइएको छ । समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिन सक्ने व्यवस्था अध्यादेशमा छ ।
अध्यादेशमा सात वटै प्रदेशका मन्त्रालयहरुमा बरिष्ठ सहसचिवलाई मात्र सचिवका रुपमा समायोजन गरिने उल्लेख छ।
अहिले सबैजसो प्रदेशका मन्त्रालयहरुमा कनिष्ट सहसचिवलाई मन्त्रालयको सचिव बनाइएको छ । ८६ हजार निजामती कर्मचारीमध्ये ४१ हजारलाई प्रदेश र स्थानीय तहमा समायोजन गरिनेछ ।
राष्ट्रपति भण्डारी बिहीबार पोल्याण्डबाट स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति फर्किएपछि अध्यादेश प्रमाणीकरण हुनेमा द्धिविधा नभएको बताइन्छ ।