arrow

निर्मलाको न्याय अभियानका लागि हिसिला यमी कञ्चनपुरमा, संघर्षसमितिको धर्ना कायमै 

logo
ईश्वरदत्त बडू 
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
nirmala-dharna.jpg

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका वास्तविक दोषीलाई सार्वजनिक गर्न माग राख्दै नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सोमबारदेखि थालेको धर्ना मंगलबार पनि कायमै रहेको छ । 

सोमबार बिहान ११ बजेदेखि जिल्ला प्रशासनको मुल गेटमा नागरिक संघर्ष समितिका पदाधिकारीले निधारमा कालोपट्टी बाँधेर धर्ना दिएका थिए । त्यो धर्ना मंगलबार पनि जारी रहेको हो । 

अभियानमा ऐक्यवद्धता जनाउँदै मंगलबार नयाँ शक्ति पार्टी नेपालकी नेतृ, पूर्व मन्त्री एवं पार्टी संयोजक डा बाबुराम भट्टराईकी पत्नी हिसिला यमी पनि धर्नास्थल पुग्दैछिन् । 

नागरिक संघर्ष समितिको नयाँ कार्यक्रम अनुसार सोमबार र मंगलबार प्रशासनको मुल गेटमा कार्यालय समयमा धर्ना भइरहेको हो । धर्ना बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएकाले कर्मचारीहरु कार्यालयमा पुगिसकेका छन् भने सेवाग्राही भने केही मारमा परेका छन् । 

नागरिक संघर्ष समितिले सरकारले निर्मलाका बलात्कारी र हत्यारा सार्वजनिक गरे आन्दोलन तत्काल फिर्ता हुने बताएको छ । कञ्चनपुर प्रहरीले आन्दोलनभन्दा पनि अनुसन्धानमा नागरिकले सघाउनुपर्नेमा जोड दिँदै आएको छ । 

सरकार यो घटनामा निराश देखिँदै आएको छ । सरकारले केही कठोर नीतिसमेत लिएको छ । युवा समूह ‘सरकार देखियो न्याय देखिएन’ भन्दै मुलुकभरका मुख्य मुख्य चोकमा पोष्टर टाँस्दै हिँड्दा सरकारले पोष्टर हटाउनमै व्यस्त छ । 

नयाँ शक्तिका संयोजक भट्टराईले सरकारलाई निर्मलाकाण्डको तत्काल छिनोफानो गर्न माग गर्दै आएका बेलामा हिसिला यमी कञ्चनपुर पुगेर संघर्ष समितिको अभियानमा ऐक्यवद्धता जनाउनुलाई सकारात्मक कदमका रुपमा लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ