निर्मलाका लागि न्याय माग्दै नेबिसंघ आरआर इकाईले गर्यो प्रदर्शन
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
1.1k
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघले महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । निर्मलाका लागि न्याय माग्दै नेपाल विद्यार्थी संघको आर आर क्याम्पस इकाईले मंगलबार बिहान प्रदर्शन गरेको हो ।
काठमडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघका नेता तथा कार्यकर्ताले निर्मलालाई न्याय माग्दै पोस्टर प्रदर्शन गरेका हुन् । उनीहरूले निर्मलालाई न्याय माग गरेर आसपासका क्षेत्रमा पोस्टर समेत टाँसेका छन् । सोही प्रदशनमा निर्मला पन्तका हत्याराहरूलाई सरकारले नै संरक्षण गरेको नेपाल विद्यार्थी संघ आर आर इकाईका सचीव अनुराग शाहले आरोप लगाए ।
नेता शाहले तत्काल दोषीलाई पक्राउ गरेर सार्वजनिक गर्न पनि माग गरेका छन् । प्रदशनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ आर आर इकाईका सचीव शाहले सरकारले न्याय दिनुको साटो न्याय माग्ने माथी प्रहरी दमन गर्नु निकै निन्दनीय कुरा भयो बताए। नेपाल विद्यार्थी संघ निर्मलाकै न्यायका निम्ति धेरै महिना बाट संघर्षमा रहेको बताउदै नेता शाहले निर्मलाले न्याय नपाउन्जेल सम्म नेवि संघको संघर्ष जारी रहने जानकारी गराए।
नेविसंघका नेता तथा कार्यकर्ताले कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको कानसम्म निर्मला पन्तका लागि न्यायको माग सुनियोस भनेर आर आर अगाडि प्रदर्शन गरेको जनाएका छन् । निर्मलालाई न्याय माग गरेर टाँसिएका पोस्टर प्रहरीले च्यातेपछि आक्रोशित बनेका सर्वसाधारणले बिगत केही दिनदेखि सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।