कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका बलात्कारीलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमा सुतेर धर्ना दिएको छ ।
मंगलबार बिहान ११ बजेदेखि प्रशासनको मुल गेटमा नागरिक संघर्ष समितिका पदाधिकारीले सडकमा सुतेर धर्ना दिएका हुन् । नागरिक संघर्ष समितिका सदस्य एव कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले सोमबारदेखि थालिएको धर्नाको स्वरुप परिवर्तन गर्दै आज सडकमा सुतेर धर्ना दिएको बताइन्।
चार महिनासम्म पनि हत्यारा सार्वजनिक नगरिएका कारण नागरिक संघर्ष समिति फेरी सोमबारबाट आन्दोलनमा उत्रिएको हो। उनका अनुसार सोमबार र मंगलबार प्रशासनको मुल गेटमा कार्यालय समयसम्म धर्ना दिइएको छ । कार्यालय प्रवेश गर्ने मूलगेटमै सडकमा सुतेर धर्नामा बसेपछि सेवाग्राही भने मारमा परेका छन्I कलाकारहरुको पनि धर्नामा ऐक्यबद्धता रहेको छ ।
पार्टीको कामले कञ्चनपुर पुगेकी नयाँ शक्ति पार्टी नेपालकी नेतृ, तथा पूर्व मन्त्री एवं पार्टी संयोजक डा बाबुराम भट्टराईकी पत्नी हिसिला यमी पनि धर्नास्थल पुगेकी छन् । अभियानमा ऐक्यवद्धता जनाउँदै सरकारले तत्काल हत्यारा पत्ता लगाउनु पर्नेमा उनले जोड दिएकी छिन् । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले सरकारले हत्यारा सार्वजनिक गरेमा मात्र आन्दोलन फिर्ता हुने बताए ।
यता निर्मलाका बाबु यज्ञराज पन्तको त्रिबि शिक्षण अस्पतालमा उपचार भईरहेको छ, जेठी श्रीमती दुर्गादेवी पन्त साथमा छिन्, भने उनकी कान्छी श्रीमती लक्ष्मी पन्त भने धर्नामै छिन् ।