१७ वर्षदेखि फरक क्षमता भएका दीपकको वेदना, फलामको खोरमा बास
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ मंसिर २२ शनिबार
656
Shares
पाँचथर । पाँचथर फिदिम नगरपालिका वडा नम्बर ९ लुम्फाबुङका दीपक घिमिरे पूर्ण रुपमा फरक क्षमता भएका छन् । उनी फरक क्षमता भएको १७ वर्ष वित्यो, जन्मजातै फरक क्षमता भएका घिमिरेलाई अहिले घर परिवारले एउटा फलामको कोक्रो बनाएर राखेका छन् । उनी दिशा पिसाब गरेको पत्तो पाउँदैनन् । उनी उभिएर हिँडडुल गर्न सक्दैनन्,जहाँ बस्यो त्यहाँ नै दिशा पिसाव गर्दछन्, बोल्न नसक्ने भएकोले उनी दिशा पिसावको बारेमा समेत केही बताउँन सक्दैनन् ।
उनको लागि को मान्छे आफ्नो र को मान्छे विरानो भन्ने पत्ता लगाउन समेत उनी सक्दैनन् । उनका बुवा कमल घिमिरेले भने,“ जन्मजातै फरक क्षमता भएका छन् उनका लागि देशका ठूला महंगा राम्रा अस्पताल पनि पुर्याएकै हो । तर, उपचार हुन सकेन अहिले घरमै उनको हेरविचार गरिरहेका छौं ।” उनले थपे “नेपालमा उपचार गर्न सम्भव छैन्, यसका लागि ७ लाख रुपैयाँ जति खर्च लाग्छ त्यो पनि भारतको चेरापुञ्जी जानुर्पछ भनेर नेपालका विभिन्न चिकित्सकहरुले आफूलाई बताए ।”
तर आफूसँग त्यतिका रकम नभएकोले उपचार गर्न नसकेको उनले बताए । अहिले उनलाई स्याहार सुसार गर्न ढुक्कै एक जनाको आवश्यकता पर्दछ । अहिले आफूहरु श्रीमान् श्रीमती मिलेर उनलाई खुवाउने पिलाउने गर्नुपरेको दिपककी आमा कमलादेवी घिमिरेले बताइन् । दिपक रातभरी सुत्न सक्दैन् आलोपालो गर्दे उसको बुवा र मैले उनलाई कुर्नु परेको उनका आमा कमलादेवीले बताउँछिन् । वि।स। ०५८ साल भदौ २० गते जन्मिएका दिपकको यस्तो दुरावस्था देखेर धेरै व्यक्ति र संघ संस्थाले सहयोग गर्ने वचन दिए । तर, अहिलेसम्म कतै कसैबाट भनेजस्तो सहयोग नपाएको उनका बुवा कमलले बताए ।
नेपाल रेडक्रस सोसाइटीले दिपकको लागि ओढ्ने ब्ल्यान्केट उपलब्ध गराएको परिवारजनले बताएका छन् । दिपकलाई सहयोग गरिदिन सामाजिक संघ संस्था र परोपकारी भावना भएका ब्यक्तिलाई आग्रह गरे । उनले भने, “मेरा छोराको उपचारका लागि सहयोग गरिदिने संघ संस्था, सरकारी निकाय भईदिए मेरा लागि त्यो भन्द खुशीको क्षण केहि हुँदैन्थ्यो ।” दिपकलाई अपांगता परिचयपत्र अन्र्तगत रातो काड दिएपछि उनले मासिक २ हजार रुपैया भत्ता लिँदै गरेका थिए । तर, पछि बैङ्किङ्ग प्रणाली मार्फत् भत्ता दिन थालेपछि उनले चौमासिक पाउने ८ हजार रुपैयाँ पनि अहिलेसम्म नपाएको उनकी आमा कमलादेवीले बताइन् ।
अहिले तत्कालका लागि उनलाई एउटा फलामको खोक्रो भइदिए सहज हुने उनका बुवा कमलले बताए । कमलका दुई भाई छोरा र एक बहिनी छोरी हुन् । बुवा आमा कृषक भएकाले उनीहरुको छोरालाई उपचार गराउने आर्थिक अवस्था समेत नभएको फिदिम ९ का वडा सदस्य गंगा राईले बताए । वडामा दिपक जस्तै अन्य ४ जना फरक क्षमता भएका रहेको हुँदा उनीहरुलाई सहयोगको निम्ति फिदिम नगरपालिका सित समन्वय गर्ने उनले बताए ।