साँखु, काठमाडौँ। नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले विगतमा पार्टीभित्र भएका गल्ती औँल्याउँदै अगाडि बढ्ने बताए। आज प्रेस युनियस काठमाडौँ साँखु शाखाको तेस्रो अधिवेशनका क्रममा शङ्खरापुरको साँखु पुग्नुभएका केसीले पार्टीभित्रका कमीकमजोरीलाई सुधार्दै नयाँ इतिहास कायम गर्नुपर्ने आवश्यकता रहेको बताए।
सरकारले नौ महीनासम्मको कार्य मूल्याङ्कन गर्दा विकासको गतितर्फ उन्मुख नदेखिएको उनको भनाइ छ। पछिल्लो समय सरकारले प्रेस क्षेत्र र सूचनाको हकबाट वञ्चित गराउने कार्य गर्दै आएकामा समेत आपत्ति जनाए। अधिवेशनका क्रममा केसीले पत्रकारले चित्रभन्दा चरित्र, नेताभन्दा नीति र व्यक्तिभन्दा विचार केलाउन सकेमा पत्रकारिताको हितका साथै देश समृद्धितर्फ उन्मुख हुने बताए।
अधिवेशनले गौरीनाथ श्रेष्ठको अध्यक्षतामा ११ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता, लक्ष्मण घिमिरे, दीपक कुइँकेल, प्रेस युनियनका पूर्वअध्यक्षद्वय कुलचन्द्र वाग्ले र मुरारीकुमार शर्मा, लोकेश ढकाल, उपेन्द्र कार्की, प्रेस युनियनका वरिष्ठ अध्यक्ष दीपक आचार्य, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, शिव लम्साल लगायतको उपस्थिति रहेको थियो।