असहिष्णु ओलीले बुद्धिजीवीलाई नानाभाती गाली गरेर असली चरित्र देखाए : प्रदीप पौडेल
प्रकाशित २०७५ मंसिर २३ आइतबार
260
Shares
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र सरकारी काम कार्वाहीले सरकार निरंकुशतातर्फ उन्मुख भएको पुष्टि गरेको बताएका छन् । कर्मचारी यूनीयन संघ तनहुँले दमौलीमा गरेको कार्यक्रममा नेता पौडेलले अन्य सरकारी संरचनालाई पंगु बनाई प्रधानमन्त्री कार्यालयलाई मात्र बलियो बनाएर प्रधानमन्त्रीले प्रशासनमा नांगो हस्तक्षेप गरेको आरोप लगाए।
“ठूल–ठूला आयोजनाहरु आफ्नै मातहतमा ल्याई देशभक्त इमान्दार कर्मचारीको मनोबल गिराउँदै स्वयं सर्वशक्तिमान बन्ने दाउमा प्रधानमन्त्री हुनुहुन्छ” पौडेलले भने । आफ्नो विरोध सुन्नै नसक्ने असहिष्णु प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुलाई नानाभाती गाली गलौज गरेर आफ्नो असली चरित्र देखाएको पौडेलको भनाइ थियो ।
२१ औं शताब्दीमा अलोकतान्त्रीक सोचको नेतृत्व नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै पौडेलले आफ्ना विरोधीलाई अरिंगालले झै झम्टन निर्देशन दिने प्रधानमन्त्री अहिले अन्यत्र कहीँ नभेटिने दाबी गरे । निरंकुश शैलीले अघि बढिरहेको वर्तमान सरकारबाट संविधान कार्यान्यन हुने लक्षण नभएकाले नेपाली कांग्रेसको नेतृत्वले धैर्यता नगुमाई कार्य सम्पादन गर्नुपर्ने पौडेलले बताए । “प्रधानमन्त्री ओलीलाई उनलै दलका शीर्ष नेताहरुले समेत बहिष्कार गर्न थालिसके, तर उहाँलाई अझै आफू जस्तो कोही छैन भन्ने दम्भ छ” पौडेलले भने ।
यसैबीच नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर तीनले पोखरामा गरेको प्रशिक्षण कार्यक्रममा नेता पौडेलले वर्तमान सरकार सबै दृष्टिकोणले असफल भइसकेको दाबी गरे । “भ्रष्टाचार, कुशासन, महंगी, असुरक्षा र गिर्दो अर्थतन्त्रमा अब्बल प्रमाणित भएको वर्तमान सरकारबाट अब जनताले के आशा गर्ने ” पौडेलले भने । “बुद्धजीवीलाई गाली गर्ने प्रधानमन्त्री, पूजीँवादका कारण निर्मला पन्तको बलात्कारपछि हत्या भएको ठोकुवा गर्ने निर्लज्ज गृहमन्त्रीबाट कसरी देश चल्छ,रु ” पौडेलको प्रश्न थियो ।