गुलरिया । बर्दिया प्रहरीले ४ हजार ५ सय किलोग्राम नेपालमा प्रतिबन्धित मटरा बरामद गरेको छ । चोरी निकासी गरी भारततर्फ लैजान भण्डारण गरी राखिएको अवस्थामा मटरा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बग्नाहबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो मटरा बरामद गरिएको प्रहरी उपरिक्षक मैनालीले बताए ।
प्रहरीले मटरासहित नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ बस्ने मटरा व्यापारी गुलाम नवीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने गोपाल थारुको घरमा व्यापारीले भाडामा राखेको गोदामबाट प्रतिबन्धित मटरा बरामद गरिएको हो ।
प्रहरीका अनुसार ४५ हजार मुल्य बराबरको ४५ क्विन्टल मटरा बरामद गरिएको छ । प्रहरीले पक्राउ गरीएका व्यापारीमाथि आवश्यक अनुसन्धान अघि बढाएको छ ।