महिलाको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले राजिनामा दिनुपर्छ : नेतृ धना खतिवडा
प्रकाशित २०७५ मंसिर २३ आइतबार
464
Shares
काठमाडौ । महिलाहरु माथि हत्या, हिंसा, बलात्कारका घटना दिनानुदिन बढिरहदाँ पनि सरकार कानमा तेल हालेर बसेकोले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीले तुरुन्त राजिनामा दिनुपर्ने आवाज उठेको छ । महिला हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत आइतबार रिपोर्टस क्लवमा बोल्दै नेपाल महिला संघकी महासचिव धना खतिवडाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजिनामा माग गरेकी हुन् ।
निर्मलाको बलात्कार पछि हत्या भयो । बलात्कारीलाई संरक्षण गर्न राज्य संरचना नै लाग्यो । अर्कोतर्फ अपराधी लुकाउन प्रशासन यसरी लाग्यो : भएका प्रमाण नष्ट गर्यो, मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टलाई नक्कली अभियुक्त खडा गर्यो। अहिले फेरी हत्यारा पत्ता लाग्यो भन्दै सामान्य चार जना युवाहरु पक्रिएको छ । मानौ यिनीहरु हत्यारा नै हुन् । यति सामान्य परिवारका युवाहरुलाई जोगाउन प्रहरी प्रसासन र राज्य सत्ता पुरै किन लागेको त ? यिनीहरुलाई हत्यरा प्रमाणित गर्दै गर्दा यिनीहरुको राज्यसत्तासगको घनिष्ट सम्बन्ध के थियो । बिगतमा उनीहरुलाई जोगाउन यो सरकार किन लम्पसार परेर लागेको त भन्ने प्रश्नको उत्तर समेत आम नागरिकले चाइरहेका छन् उनले भनिन् ।
प्रधानमन्त्रीले कम्युनिष्ट सरकार आएपछि १०, ११ बजेसम्म पनि एक्लै हिड्न सक्छन भनेर भोट मागेका थिए । आज काखे बालिकादेखी ७० बर्षका बृद्धासम्म समाजमा दिनै बलात्कार र हत्याका घटनाले यो सरकारलाई गिज्याइरहेको छ । विभिन्न गैरसरकारी संस्थाहरुको प्रतिवेदन अनुसार ७३ प्रतिशत महिलाहरु घरेलु हिंसाबाट पीडित रहेको भयाभव स्थिति सार्वजनिक भएको छ । घरघरबाट चेतना अभियान सुरु गर्नु पर्नेमा सरकार किन सुतिरहेको छ । देशमा सरकार भएको अनुभुति महिलाले किन गर्न पाएका छैनन् ?
घरेलु हिंसामा हत्या, हत्या प्रयास, आगो लगाएर जिउँदै जलाउने, आत्महत्याका लागि बाध्य बनाउने साथै यातना, कुटपिट, अंगभंग हुनबाट हाम्रा दिदी बहिनीले कहिलेबाट मुक्त होलान सरकार ? न्यायका लागि टासिएका निर्मलाका पोष्टर प्रहरी प्रशासन लगाएर च्यात्नुको नियत के ? पाँच महिना सम्म पनि निर्मलाको हत्यारा खोइ भन्दै नागरिक सडकमा छन् । कहिले को त कहिले को नक्कली अपराधी खडा गरेर सरकार आन्दोलन दवाउन लागिपरेको छ । अझै पनि देशमा दण्डहिनता मौलाइरहने र महिना लगायतको सुरक्षामा सरकार नलाग्ने हो भने सडक देखि सदन सम्म नेपाल महिला संघले दवाव मुलक आन्दोलन गर्दै जाने महासचिव खडिवडाले बताइन् ।