कांग्रेस बैठकमा जनसम्पर्क समितिको अधिकारका लागि विष्टको प्रस्ताव
प्रकाशित २०७५ मंसिर २३ आइतबार
265
Shares
काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले कांग्रेसको संशोधित विधानमा विश्वभरका जनसम्पर्क समितिको अधिकार सुनिश्चितताका लागि जोड दिएका छन् । विधान मस्यौदाका विषयमा जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो भनाई राख्ने क्रममा जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष समेत रहेका विष्टले जनसम्पर्क समितिका हकमा हालको विधानमा सुनिश्चित गरिएको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको व्यवस्थालाई यथावत राख्न समेत जोड दिए ।
विधान मस्यौदा समितिमा हालको व्यवस्था हटाई जनसम्पर्क समितिलाई पर्यवेक्षकको मात्र हैसियत प्रदान गर्ने भन्ने विषय छलफलमा प्रवेश गरेको आफुले जानकारी पाएको भन्दै त्यसप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । 'विश्वभर छरिएर रहेका करीब ६० लाख नेपालीहरुलाई मत अधिकार प्रदान गर्नका लागि सर्वोच्च अदालतले आदेश समेत दिईसकेको अवस्थामा नागरिक अधिकारका लागि निरन्तर लडेको र वर्तमान संविधानका लागि नेतृत्व गरेको पार्टीले आफ्नो विधानमा विदेशमा रहेका नेपालीहरुलाई प्रतिनिधित्व नै हुन नदिने व्यवस्था गर्नु उचित हुँदैन, यसले सम्पूर्ण लोकतन्त्र पक्षधर नेपालीहरुको अपमान हुन्छ' विष्टले आफ्नो भनाई राख्ने क्रममा भने ।
उनले संशोधित विधानमा ५०० भन्दा कम क्रियाशील सदस्य भएका मुलुकबाट सम्बन्धित मुलुकका जनसम्पर्क समितिका अध्यक्षलाई पदेन महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गरेका छन् । साथै विष्टले क्रियाशील सदस्यताका लागि आवेदन गर्दा नेपाली नागरिक र राहदानीको प्रतिलिपि समावेश गर्नुपर्ने भन्ने बुँदा विदेशमा रहेका नेपालीका लागि अव्यवहारिक रहेको भन्दै यसमा वैकल्पिक व्यवस्थाका लागि नेतृत्वको ध्यानाकार्षण गराएका छन् । 'यो विषयमा सहजीकरण गर्नका लागि मैले आग्रह गरेको छु,मलाई लाग्छ क्रियाशील सदस्यका हकमा भन्दा पनि महाधिवेशन प्रतिनिधि/महासमिति सदस्य र जनसम्पर्क समितिको अध्यक्षका हकमा मात्र यो व्यवस्था लागू गर्दा उचित होला'विष्टले बैठकपछि हामीसंगको संक्षिप्त कुराकानीमा भने ।
आमन्त्रित केन्द्रीय सदस्य भएपछि दोश्रोपटक केन्द्रीय समिति बैठकमा सहभागी भएका विष्टले आजको बैठकमा जनसम्पर्क समितिको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने,पार्टी नेतृत्वले अनावश्यक हस्तक्षेप गर्न नहुने,राष्ट्रिय समितिलाई व्यवस्थित गर्न पद्धतीगत ढंगले संचालन गर्नुपर्ने,पार्टीमा जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन विश्वभरका जनसम्पर्क समितिका तर्फबाट कम्तीमा दुई जना निर्वाचित केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने,सबै समितिको कार्यकाल र विधानमा एकरुपता कायम गर्नुपर्ने,जनसम्पर्क विभागलाई थप प्रभावकारी बनाउन विभागमा जनसम्पर्क समितिका तर्फबाट सदस्यहरु मनोनित गर्नुपर्ने,विदेशमा जनसम्पर्क समिति एक मात्र भातृ संस्था हुनुपर्ने र अन्य शुभेच्छुक संघ/संगठन समिति मातहत रहनुपर्ने,विदेशमा हुने सेमिनार,गोष्ठीमा पार्टीको तर्फबाट सम्बन्धित मुलुकका जनसम्पर्क समितिलाई प्रतिनिधित्व गराउनुपर्ने लगायतका सुझाव समेत नेता विष्टले आजको केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।
केन्द्रीय समिति बैठक र आसन्न महासमिति भेलामा भाग लिन तीन दिन पहिले नेपाल पुगेका नेता विष्टले पार्टीको आन्तरिक विषयमा पनि आफ्नो धारणा व्यक्त गरे । सोही क्रममा उनले कांग्रेस भनेको सभापतीय प्रणालीमा चलेको संस्कार भएको पारिवारिक सदस्यहरु सरहको संगठन भन्दै सभापतिलाई बलियो बनाउनुपर्नेमा जोड दिए । ' सभापतिलाई बलियो बनाउनु पर्छ,अनावश्यक खिचलो मात्र गर्नुहुन्न । पार्टीको आन्तरिक विषयमा बोल्ने,छलफल गर्ने र निर्णय गर्ने एकमात्र वैधानिक थलो यही केन्द्रीय समिति हो । केन्द्रीय समिति बैठकमा यति सौहार्द्र वातावरणमा बैठक हुन्छ,छलफल हुन्छ र कुनै बुँदामा असहमति भए छलफल गरेर सहमतिमा पुगिन्छ । तर हामीहरुबीचको यस्तो संस्कारलाई बैठकबाट निस्कने बित्तिकै बाहिर गएर आफु खुशी बोल्ने,प्रतिक्रिया दिने,नेतृत्वको आलोचना मात्र गर्ने र आफ्नो फरक मत देखाएर मिडिया स्टन्ट गर्ने काम बन्द गरौँ । यसले कांग्रेसका आम शुभेच्छुकलाई निराश मात्र बनाउँछ,यस्तो गलत कामको अन्त गरौँ'नेता विष्टले भने ।
यसैबीच बैठकपछि हामीसंगको कुराकानीमा नेता विष्टले कांग्रेस सभापति शेरबहादुर देउवा जनसम्पर्क समितिको भूमिका र अधिकारका पक्षमा अत्यन्त सकारात्मक रहेको र अन्य नेताहरुले समेत समितिको अधिकार हनन नहुने विश्वास दिलाएको बताएका छन् ।