arrow

डरलाग्दो हुँदै गयो निर्मला हत्याको अनुसन्धान

अब : स्वतन्त्र अनुसन्धान टोली गठन, खोल्न बाँकी रर्‍यो धीरु बस्न्यातको ‘पोको’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ मंसिर २४ सोमबार
nirmala1.JPG

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान डरलाग्दो हुँदै गएको छ। अनुसन्धानका जानकार तथा पूर्व उच्च प्रहरी अधिकारीहरुका अनुसार अब यो अनुसन्धान आफैमा लम्बेतान भइसकेको छ। अनुभवी उच्च अधिकारीहरु भन्छन्, ‘जिम्मेवार पदमा बसेका मान्छेहरुले नै हत्यारा पत्ता लागिसक्यो, सार्वजनिक गर्न बाँकि छ भन्नु र प्रहरीले एक सुत्रीय रुपमा सरकार नजिकका संचारमाध्यमबाट अनुसन्धानका कुरा चुहाउनु दुर्घटनातिर लैजानु हो।’यसले भइराखेको प्रगतिमा पनि ठेस पुग्छ। यो किन भइरहेको छ, थाहा छैन।

निर्मला हत्या प्रकरणले कञ्चनपुर बलिरहेकाबेला पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले भनेका थिए, ‘प्रहरीमा अहिले ठूलो विचलन आएको छ। निजामति कर्मचारीको नेतृत्वमा छानविन समिति बन्नु त झन् उदेकलाग्दो कुरा हो। अनुसन्धानका लागि हुलका हुल मान्छेहरु खटाएर नतिजामा पुगिदैन। चाहेको खण्डमा जम्मा एउटा प्रहरी अधिकारीले अनुसन्धान पूरा गरिदिन्छ। त्यसको लागि संगठनको नेतृत्व जिम्मेवार ठहर्छ। वातावरण बनाउने नेतृत्वले हो।’ नेतृत्व काममा चलाख र पेशाप्रति कटिबद्ध हुनुपर्दछ।

उनको त अनुभव नै छ, दरबारियाहरुले जागिर खाइदिन्छु भनेर कठालो समात्दा समेत सही नतिजा दिए, निर्दोष फसेन। उनी एक्लैले अनुसन्धान गरेका कयौँ घटना छन्, पूरै सुनायो भने अहिलेका प्रहरी प्रमुखले राजीनामा दिएर भाग्लान् भन्ने डर। अहिले त अनुसन्धानका लागि अनेकौ प्रविधिको सहायता लिन सकिन्छ। प्रमाण जुटाउन पहिले भन्दा निकै सहज छ। तर, निर्मला हत्या प्रकरणमा त्यस्तो भएन। यो घटनाक्रम त दिनानुदिन डरलाग्दो हुँदै गएको छ। 

प्रहरीका हर्कत उस्तै 
अहिले प्रहरीले कञ्चनपुर भीमदत्तनगर–१८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सुनिन्छ,–प्रदीपबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद समते थपिएको छ। तर, प्रहरी बोल्दैन। हर्कत उस्तै छ, प्रहरीको। प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदी अनुसन्धानका क्रममा रहेकाले धेरै कुरा भन्न मिल्दैन भन्छन्। प्रदीप र विशाललाई कहाँ राखिएको छ सम्म पनि भन्दैन, प्रहरीले। महानगरीय प्रहरी परिसरकार एसपी साँब केन्द्रीय अनुसन्धान व्यूरोलाई सोध्न भन्छन्।

केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख निरज शाही व्यूरोले त सोधपुछका लागि मात्रै ल्याएको थियो, उतै काठमाडौँ जिल्ला तिरै राखेको होला भन्छन्। तर, सरकार निकट रहेका केही सञ्चारमाध्यमबाट प्रदीप र विशालले दिएका बयान समेत सार्वजनिक भइरहेका छन्। यसलाई धेरैले नियोजित भनेका छन्। कञ्चनपुर प्रहरीलाई त अहिले हाइसन्चो भएको छ, उतै लगेका छन्, केन्द्रमै सोध्नुस् भन्दियो, सक्कियो। त्यो भन्दा बाहेक केही भनेन्, प्रमुख अनुसन्धान अधिकृत तोकिएका कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले। 

सोधपुछका क्रममा प्रदीप र विशालले अपराध स्वीकारेको भनि एकपक्षीय जानकारी प्रहरीले चुहाएको छ। प्रहरीले उनीहरूका कतिपय कुरा अमिल्दो रहेको कुरा बल्ल आएर भनेको छ। अब प्रहरीले दुवैको डिएनए रिपोर्ट कुरिरहेको छ। गम्भीर कुरा यहाँनेर छ, प्रहरीले दुवैलाई कहीलेसम्म केरकार गर्छ ? कति मानसिक वा शारीरिक यातना दिन्छ।

डिएनए रिपोर्ट आउन त अझै केही हप्ता लाग्छ भन्छन्, प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाका एसपी राकेश कुमार सिंह। उनले भने, ‘डीएनए रिपोर्ट अहिल्यै कहाँ आउँछ। केही हप्ता लाग्छ। म यहाँ काम गर्दैछु, डिस्टर्ब नगर्नुस्।’  यत्ति भनेपछि अब अनुमान लगाए भइहाल्यो, कुखुरा चोरेको आरोपमा पक्राउ परेर छाडिएका प्रदिप र विशालमाथि अहिले के वित्दै होला भनेर। जे पहिले मानसिक समस्या भएको भनिएका दिलिविष्टमाथि वितेको थियो। केही जानकारहरुले भनेका छन्, ‘निर्मला हत्याको अनुसन्धान डरलाग्दो हुँदै गयो।’ 

कुरा यस्तो पनि
गएको साउन ९ गते वुधबार राति भीमदत्त नगरपालिकामा रहेको एक मासु पसलमा चोरी भयो। चोरी भएको उजुरी लिएर साहु पाले चौधरी नजिकै रहेको वडा प्रहरी कार्यालय हानिए। चौधरीको पसलबाट चोरी भएको के हो ? भन्ने कुरा नै अझै प्रष्ट भएको छैन। आफुलाई तथ्य नजिक ठान्ने अखबारले कुखुरा चोरी भएको विवरण दोहोर्‍याई तेहर्याई लेखेको पढेकाछन्, पाठकले। 

पसलबाट कुखुरा कि कुखुराको मासु चोरी भएको अथवा पैसा चोरी भएको ?  भन्नेमा आपस कुरा बाँझिएका छन्। खबर पनि त्यसरी नै आए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका हाकिम तथा एसपी कुवेर कठायत ३–४ सय रुपैयाँ चोरी भएको उजुरी परेको सुनाउँछन्। 

उनले भने अनुसार सालघारी अस्थायी प्रहरी बिटले भगतपुर घर भएका रावल थरका किशोरलाई साउन १० गते विहान नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लगेको थियो। रावलले पहिले गाउँमा सानातिना चोरी गरेकाले प्रहरीको शंका उनीतिरै सोझियो। तर, उनले चोरी स्वीकारेनन्। प्रदीप र विशाल साथी हुन्। दुवैको उमेर पनि एउटै, १७ वर्ष। चोरी र फट्याई प्रयोगमा पनि दुबैको मित्रता छ। प्रदीपले पोलेपछि प्रहरीले विशाल चौधरीलाई पनि नियन्त्रणमा लियो साउन १० गते। भोलिपल्ट साउन ११ गते छोरालाई छुटाउन आमा प्रहरी चौकी पुगेको बताइएको छ।

चोरीको अभियोगमा हिरासतमा रहेका छोरालाई आमाले भोलिपल्ट प्रहरीबाट छुटाएर घर लगिन्। त्यही दिन भीमदत्तनगर–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव उखुबारीमा भेटियो। त्यो बेला धेरै केरकार नगरेको प्रहरीले चार महिना पछि प्रदीप र विशाललाई पक्राउ गरेको छ। अहिले चोरी आरोपमा हैन, निर्मला बलात्कार र हत्या आरोपको गिरफ्तारी। 

अबको नाटक : स्वतन्त्र अनुसन्धान टोली गठन
निर्मला हत्याको शंकामा प्रहरीले थुनेका आरोपी प्रदीप र विशालको डिएनए  नमिले सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने तयारी गरेको छ। संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरूसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले तयारी गरिरहेको छ।

प्रदीप र विशालको डिएनए मेल नखाए विशेष अनुसन्धान टोली गठन गर्ने तयारी भइरहेको गृहका अधिकारीहरु बताउँछन्। सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा छानविन गर्न यस्तो टोली गठन गरिएको थियो। यस्तो टोलीले आफैँ पक्राउ पुर्जी दिएर पक्राउ र सोधपुछ गर्न पाउने व्यवस्था छ। टोलीमा प्रहरी संगठन बाहिरका स्वतन्त्र अनुसन्धानकर्ता मात्रै राख्न सकिने अहिलेको संगठित अपराध ऐनमा व्यवस्था छ। तर, सनम शाक्य हत्या तथा सुन तस्करी प्रकरणको अनुसन्धान निकै विवादित रहयो। पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेल अहिले पनि त्यो अनुसन्धान विधिको विरोध गरिरहेका छन्। 

केही धीरु बस्न्यातको गुणगान गाउँदै 
एआइजी धीरु बस्न्यात नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिबेदनबाट निर्मला पन्त हत्या प्रकरणका मुख्यपाटाहरु खुल्ने भन्दै केहीले प्रचार गर्न थालेका छन्। तोकिएको कार्यादेश अनुसार बस्न्यात नेतृत्वको टोलीले चाँडै प्रतिवेदन दिँदैछ। बस्न्यातले, ‘नैतिकता, मानवीयता र कानूनी धरातलमा बसेर आफ्नो धर्म पुरा गर्नेछु। भएका तथ्यहरुबाट सत्य उजागर गर्न मद्दत पुग्ने गरी चाँडै छानविन प्रतिवेदन सार्वजनिक गर्छौ, भने। 

छानबिनका क्रममा उनी नेतृत्वको समितिले कञ्चनपुर प्रहरीबाट मुद्दाको मिशिल झिकाई अध्ययन तथा विश्लेषण गरिरहेको छ। यस्तै, अनुसन्धान गर्दा प्रमाण मास्न संलग्न प्रहरी अधिकारीसँग बयान लिने काम समेत भइरहेको छ। पोलिग्राफ परिक्षण, प्रविधिको प्रयोग गर्दै ‘डिजिटल फरेन्सिक ल्याव’ बाट प्राप्त रिपोर्टको अध्ययन, अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको बैंकिङ कारोबारको अनुसन्धान भइरहेको बताउँछन्, बस्न्यात। 

प्रहरीले प्रमाण मासेको, मानसिक सन्तुलन गुमेको व्यक्तिलाई दोषी करार गर्न खोजेको, देख्दै डरलाग्ने दिलिप सिंह विष्टलाई निर्मलाले साईकलको चेन बनाउन दिएको, बलात्कारको प्रसंग साइकलको चेनमा घुमेको र विभिन्न पक्षका कुरा समेटेर मिडियाले लेखेका खबरको पनि विश्लेषण बस्न्यातको छानविन समितिले गरिरहेको छ।

निर्मलाको शव हतारहतार परिवारको जिम्मा लगाउनु, निर्मलाले लगाएका लुगाहरु हतारमा जलाईनु, साउन ११ गतेको सनाखत मुचुल्कामा निर्मलाका बुवाको औठाछाप रहेको तर उनी भोलिपल्ट १२ गते मात्र भारतबाट नेपाल फर्केको लगायतका तथ्यहरु पनि केलाउँदैछन्, बस्न्यात। प्रहरीले अनुसन्धानको घेरा साँघुरो भइसकेको र केही समयमै तथ्य बाहिर आउने बताइरहँदा अब खोल्न बाँकी रहयो, धीरु बस्न्यातको पोको।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ