सरकारले विधिको शासन, नागरिक स्वतन्त्रता तथा शक्ति पृथकीकरणको ठाडो उपहास गर्यो : गगन थापा
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
297
Shares
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेताहरुले नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत संग्रह भएको टिप्प्णी गरेका छन् । बृहत लोकतान्त्रिक युवा ईन्जिनियर भेलालाई राजधानीमा सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले बुद्धिजीवीहरुलाई पेलेर अघि बढ्ने नियत बोकेको वर्तमान सरकारलाई नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावले गतिलो पाठ सिकाउने दाबी समेत गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री गगन थापाले बलियो भएपनि बरालिएको वर्तमान सरकारले संघीयता कार्यान्वयन गर्न नसक्ने ठोकुवा गरे । वर्तमान सरकारले लोकतान्त्रिक मान्यताका आधार स्तम्भ विधिको शासन, नागरिक स्वतन्त्रता तथा शक्ति पृथकीकरणको ठाडो उपहास गरेको थापाले बताए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कांगेस अहिले ढलेको मात्र हो मृत हैन भन्दै देशभरका ईन्जिनियहरुले सिंगो लोकतान्त्रिक प्यानललाई जिताई पार्टीलाई सञ्जीबनी बुटी प्रदान गर्ने विश्वस व्यक्त गरे ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेले निरंकुशतातर्फ उन्मुख वर्तमान सरकार हरेक दृष्टिकोणमा असफल भइसकेकाले लोकतान्त्रिक शक्तिको जीतको विकल्प नरहेको धारणा राखे। “सरकारी स्रोत साधनको चरम दुरुपयोग गर्दै प्रधानमन्त्री स्वयं गैर लोकतान्त्रिक प्यानललाई जिताउन तल्लीन हुनुहुन्छ, तर देशभरको माहोल लोकतान्त्रिक प्यानलको पक्षमा छ ” पौडेलले भने ।
तरुण दलका अध्यक्ष जीत जंग बस्नेत, महामन्त्री भूपेन्द्र शाही, नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्ण, पूर्व महामन्त्री मनोजमणि आचार्य, उपाध्यक्ष डिल्लीराम सुवेदी लगायतले वर्तमान सरकारको पर्याय नै भ्रष्टाचार, कुशासन, महंगी र असुरक्षा भइसकेको बताए ।
नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्व अध्यक्षहरु सरोज देवकोटा, किशोर शाक्य, धुव्र थापा, वर्तमान अध्यक्ष हरेराम श्रेष्ठ लगायतले लोकतान्त्रिक प्यानलले जितेमा मात्र इन्जिनियरहरु सहित सिङगो मुलुकको समृद्धि सम्भव रहेको बताए ।