arrow

फोहोर संकलनमा जोर बिजोर प्रणाली लागु

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष २ सोमबार
dust1.jpg

दार्चुला ।  दार्चुलाको महाकाली नगरपालिकाले जोर बिजोर प्रणालीमा नगरको फोहोर संकलन कार्य सुरु गरेको छ । पुस १ गते देखी लागु भएको यो प्रणालीमा अब नकुहिने फोहोरलाई बिजोर गते र कुहिने फोहोरलाई जोर गते संकलन गर्ने नगरपालिकाले जनाएको छ । नगरक्षेत्रको फोहोर व्यवस्थापनमा सहजताका लागी नगरपालिकाले यो जोर विजोर प्रणाली ल्याएको नगरपालिकाका प्रवक्ता पुस्कर राज जोशीले बताए  । अब नकुहिने फोहोर र नकुहिने फोहोर स्थानियले घरबाटै छुट्याएर नल्याए संकलन नगरीने भएको छ । बजारका घररघरबाट निस्कने जैविक र अजैविक फोहर, संकलनकर्तालाई छुट्ट्याएर नदिँदा व्यवस्थापनमा समस्या भइरहेको उनको भनाई छ  ।

नगर क्षेत्र भित्र उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्यका साथ नगरपालिकाले यस्तो निती लागु गरेको प्रवक्ता जोशीले बताए । नगर क्षेत्र भित्रका नागरिकले अब देखी कुहिने र नकुहिने अर्थात जैविक र अजैविक फोहोरलाई छुट्याएर उचीत ठाउँ सम्म पुर्याउनु पर्ने भएको छ । यदि कुहिने र नकुहिने फोहोरलाई संगै मिसाएमा उक्त फोहोर नगरपालिकाले संकलन नगर्ने जनाइएको छ । फोहोरलाई उचित व्यवस्थापन गरि फोहोरबाट आम्दानी गर्ने तथा नगर क्षेत्रलाई स्वच्छ सफा र हराभरा बनाउने उद्देश्य सहित नगरपालिका नयाँ कार्ययोजनाका अगाडी बढेको छ ।

नगरपालिकाको टोलीले केहि दिन अघि मात्रै धनकुटाको धनकुटा नगरपालिका तथा स्याङ्जाको वालिङ नगरपालिकाले गरेको फोहोर व्यवस्थापनलाई अवलोकन गरेको थियो । अवलोकन गरिएका नगरपालिकाहरुको सिको गर्दै महाकाली नगरपालिकाले समेत फोहोरलाई उचित व्यवस्थापन गरि पैसा कमाउने लक्ष्य राखेको छ ।

फोहर व्यवस्थापनको विकल्पको खोजी

घना बस्ती रहेको महाकाली नगरपालिकाहरूका लागि फोहर व्यवस्थापन जटिल समस्या बन्दै गएको छ । यो दार्चुलाको मात्र समस्या होइन, देशभरि नै विकसित गरिएका महानगर, उपमहानगर र नगरपालिकाहरूको ठूलो समस्या हो । नगरपालिका र गाउँपालिकाहरूको निर्माणसँगै तिनीहरूले प्रवाह गर्नुपर्ने सेवाको दायित्वमा पनि वृद्धि भएको छ ।

तल्लो तहका जनतालाई दिनुपर्ने सेवामा सुधार हुन सकेन भने त्यसले शासकीय प्रणालीको विकेन्द्रीकरणको तात्विक भिन्नता बोध जनताले गर्न सक्दैनन् । नगरभरि यत्रतत्र थुप्रने फोहरको डंगुरले स्थानीय सरकारहरूलाई गिज्याइरहेको छ । यो अवस्था अहिले सदरमुकाम बजार क्षेत्र भित्रंबाट फैलिएर आउँदा आगामी दिनमा ग्रामीण नगरहरूमा पनि यो समस्या बढ्नेछ ।

नगरभरि जम्मा भएको फोहर नदी, खोला, ताल किनारामा फ्याँक्नु वा वनक्षेत्रमा लगेर थुपार्नु मात्र फोहर व्यवस्थापनको समाधान होइन । यसरी थुप्रिँदै गएको फोहरमा विषाक्त ग्यास बनेर भोलि माहामारीका समस्या देखा पर्छ भन्ने पुष्टि हुनु जरुरी छ । विश्वभरि फोहर व्यवस्थापनका लागि नयाँ–नयाँ प्रविधिहरूको विकास हुँदै गएको छ । नेपालको हकमा त्यस्ता आधुनिक प्रविधि तत्कालै अपनाउन नसकिए पनि जैविक मल र जैविक इन्धन भित्र्याउने जुन प्रविधि अहिले भित्रिएको छ, त्यसको अधिकतम उपयोगका लागि नीति बनाउनैपर्छ ।

 अहिलेको अवस्थामा फोहर व्यवस्थापनका लागि सहज विधि हो, कुहिने र नकुहिने फोहर छुट्याउनका लागि स्थानीय सरकारहरूले नै नगरवासीहरूलाई प्रोत्साहित गर्ने, नकुहिने फोहरमा पनि पुनःप्रयोग गर्न सकिने र नसकिने फोहरलाई अलग–अलग राख्नका लागि स्थानीय सरकारहरू आफैंले कन्टेनरहरूको व्यवस्थापन गरिदिने र असल अभ्यास देखाउने नगरवासीलाई पुरस्कृत गर्ने व्यवस्था गर्ने हो भने फोहर व्यवस्थापनका समस्या केही हदसम्म सुल्झिन सक्छ । यसका साथै ल्यान्डफिल्ड साइटहरूलाई फोहर प्रशोधन केन्द्रका रूपमा परिणत गरिनु आवश्यक छ ।



नयाँ