arrow

उखु किसानको सरकारी अनुदान उपलब्ध गराउन पहल 

logo
प्रकाश मैनाली 
प्रकाशित २०७५ पुष ५ बिहिबार
sugarcane.jpeg

सर्लाही । कोष तथा लेखा नियन्त्रकको कार्यालय कोलेनिकामा आएर थन्किएको सर्लाहीका उखु किसानको अनुदान उपलब्ध गराउन पहल सुरु भएको छ । चिनी उद्योगहरुले गत सिजन उद्योगमा बिक्री गरेका उखुको परिमाण उपलब्ध नगराइदिँदा सरकारले उपलब्ध गराएको प्रति क्वीन्टल ६४ रुपैयाँ २८ पैसा बराबरको झण्डै २६ करोड रकम कोलेनिकामा आएर थन्किएको छ ।

यो रकम कसरी किसानलाई उपलब्ध गराउन सकिन्छ भनेर बुधबार साँझ सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिको जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको थियो । 

छलफलबाट किसानको विवरण उपलब्ध गराउन चिनी उद्योगलाई ताकेता गर्ने र त्यसमा स्थानीय तहहरुलाई समन्वय गरिदिन आग्रह गर्ने निर्णय भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए । 

सरकारी अनुदान किसानलाई उपलब्ध गराउन सहायक प्रजिअको संयोजकत्वमा कोलेनिका र कृषिका प्रमुख सदस्य रहनेगरी सरकारले एक समिति गठन गरेको थियो । 

सो समितिले किसानको विवरण सम्वन्धी ढाँचा समेटिएको कृषि मन्त्रालयबाट प्राप्त परिपत्र जस्ताको तस्तै स्थानीय तह र चिनी उद्योगहरुलाई पठाउने निर्णय समेत गरेको छ ।

दशैं लगत्तै कोलेनिकामा किसानको अनुदान आएर बसेको छ । तर चिनी उद्योगीबाट कुन किसानले कति उखु बेचेका थिए भन्ने विवरण चिनी उद्योगबाट कोलेनिकामा पुगेको छैन । 

किसानहरुले भने अनुदान लिन लालपूर्जाको प्रतिलिपी, जग्गा भाडामा लिए–दिएको विवरण जस्ता कागजात जुटाउनुपर्ने झन्झट दिएको भनेर गुनासो गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ