arrow

‘भ्रष्ट्राचारमा चोलेन्द्रले अन्तर्राष्ट्रिय मेडल जित्छन्’ : के होला प्रधानन्यायाधीशको तक्मा ? 

‘प्रेरणाको दाइजो जोगाउन ज्ञानेन्द्रकी पुफुका छोराबाट घुस लिए, माइली तामाङको सर्वस्वहरण’

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं। न्याय परिषदबाट प्रधान्यायाधीशका लागि पहिलो नम्बरमा सिफारिस भएका न्यायाधीश दीपकराज जोशीका लागि संवैधानिक परिषदबाटै ढोका बन्द गरिएपछि, जोशी च्याप्टर क्लोज। अघिल्लो पटक संसदीय सुनुवाईसम्म पुगेका जोशीलाई यो पल्ट संवैधानिक परिषदमै तगारो पर्‍यो। अघिल्लो पटक जस्तै, रोलक्रम  मिचियो। यसअघि जसरी दोस्रो नम्बरमा रहेका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भए।

यो पल्ट पनि त्यसै भयो, दोस्रो नम्बरमा रहेका चोलेन्द्रशमशेर राणाको नाम संसदीय सुनुवाईका लागि पठाइयो। अनि, सुरु भयो राणा च्याप्टर। राणाबारेको संसदीय सुनुवाई पनि मुखैमा आइसक्यो। आइतबार काठघरामा उभिनै पर्‍यो। प्रक्रिया अनुसार समितिले उजुर आह्वान गर्दा राणाविरुद्ध ९ वटा आरोप पत्र परे, ‘८ व्यक्तिगत र एक सैद्धान्तिक’। उजुरकर्ताहरुसँग संसदीय सुनुवाई समितिले छलफल गरिसकेको छ। 

राणामाथि लागेका आरोप सामान्य छैनन्। राणालाई प्रधानन्यायाधीश बनाउनुको सट्टा महाभियोग लगाएर हटाइनु पर्ने कोटीमा पारेका छन्, उजुर कर्ताले। भ्रष्टाचारीको नाइके भनेका छन्। त्यतिमात्र होइन, संविधान विरोधी र पाकृतिक न्यायको घाँटी निमोठ्ने घोर अपराधी भनेका छन्। उजुरकर्ताले संसदीय सुनुवाई समितिमै राणालाई प्रधानन्यायाधीश बनाए भयङ्कर आन्दोलन गर्ने चेतावनी दिइसकेका छन्। ९ उजुरकर्ता मध्य एक पुण्यप्रसाद गौतमले त, ‘यदि संसारका भष्ट्राचारीबीच प्रतिष्पर्धा गराउने हो भने, राणाले अन्तर्राष्ट्रिय मेडल जित्ने पक्का छ’ भन्दिए। 

उनले राणालाई ठाडै भ्रष्टाचारीको नाइके भनेका छन्। उनले अगाडि थपे, ‘राणाले वीरगञ्ज पोखरियामा रहेको अरबौं रुपैँया पर्ने जग्गा बहिनीको जेठाजुको नाममा गरे। यो एउटा उदाहरण मात्रै हो। यस्ता त सयौँ घटना छन्। पशुपतिभक्त महर्जनले एउटा स्टयाम्प लगाइदिएको भरमा राणाले नै नेपाल ट्रष्ट ऐन विपरीत प्रेरणा राज्यलक्ष्मी शाहको दाइजोको आधार खडा गरिदिए।’ गौतमका अनुसार उनी नेपालको संविधानलाई नै मान्दैनन्।

संसदले बनाएको कानूनको पालना गर्दैनन्, गौतमले भने, ‘जथाभावी फैसला गर्छन्। देशको मूल कानून नै नमान्नेलाई प्रधानन्यायाधीश बनाउँदा के होला ?’ गौतमले प्राकृतिक न्यायको सिद्धान्त विपरीत काम गर्ने न्यायाधीशलाई कारबाही गरिपाउँ भनेर राष्ट्रपतिलाई नै निवेदन हालेका छन्। उनकै जस्तो निवेदन ठूली तामाङले पनि राष्ट्रपतिलाई दिएकी छन्। राणाविरुद्ध खुलेर उजुर गर्ने अर्का निवेदक हुन्, ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियानका संयोजक जफरुल हुसेन अन्सारी।  उनले वीरगञ्ज महानगरपालिकामा रहेको ४ बिघा क्षेत्रफलको धार्मिक सम्पदा सालो नाता पर्ने प्रमोद बिक्रम शाहलाई दिलाएको आरोप लगाएका छन्। 

अन्सारीले चोलेन्द्रशम्शेर र दीपकराज जोशीको संयुक्त इजलासले आफन्तलाई धार्मिक सम्पदा दिलाएको खुलासा गरिदिए। अन्सारीले भनेका छन्, ‘उनी राजा शैलीका मान्छे हुन्। उनमा अझै राजतन्त्रको भूत सवार छ। राणा प्रधानन्याधीश भए संघीय लोकतन्त्र नै खतरामा पर्छ, राजसंस्थासँग जोडिएका मुद्धा आयो कि उनी उनीहरुकै पक्षमा फैसला गरिदिन्छन्। त्यसैले उनलाई महाअभियोग लगाएर पदबाट हटाइनु पर्दछ।’

वीरगञ्जको सार्वजनिक ४ बिघा जमिन प्रमोद विक्रम शाहले हडपेपछि २०६५ असार २६ गते जिल्ला अदालत र पुनरावेदन अदालतले २०६७ असार २८ गते शाहको विपक्षमा फैसला गरे। तर, शाहले सर्वोच्च्मा पुनरावेदन गरेपछि जिल्ला र तत्कालीन पुनरावेदन अदालतको फैसला राणाले उल्ट्याइदिए। न्यायको सर्वमान्य सिद्धान्त अनुसार आफ्नो नाता पर्नेको मुद्दाको पेशी हेर्नै पाइँदैन। राणाले सालो नाता पर्ने प्रमोद विक्रम शाहको नाममा लालपूर्जा कायम गरिदिएको अन्सारीले बताए। न्यायको सर्वमान्य सिद्धान्त विपरित आफन्तको नाममा फैसलाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा विचाराधीन छ। २०७४ वैशाख ११ गते दर्ता भएको मुद्दाको अझै फैसला भएको छैन।  

राणाविरुद्ध उजुर गर्ने को–को हुन् ९ जना ? 
प्रधानन्यायाधीशका लागि सिफारिस चोलेन्द्र शमशेर राणाविरुद्ध उत्तमबहादुर बस्नेत, जमबोला लामा, भाजु लामा, माधवप्रसाद पौडेल, राम बस्नेत, पुण्यप्रसाद गौतम, जफरुल हुसेन अन्सारी, गजेन्द्र थापा र जुल्फा लामाले उजुरी गरेका हुन्। 

हिन्दु, मुस्लिम मात्रै होइन बौद्धमार्गीहरुपनि राणाविरुद्ध
बौद्ध जागरण केन्द्रका कोषाध्यक्ष जम्बला लामा, ‘विवादित, भ्रष्ट्र न्यायाधीश चोलेन्द्रशमशेरालाई न्यायपरिषद र संबैधानिक परिषदले कालो कौवालाई सेतो बनाई सिफारिस गरेको’ भन्छन्। उनले यो आम नागरिक र न्याय क्षेत्रकै अपमान गरेको हो, भने। उनका अनुसार राणा आर्थिक प्रलोभनमा परेर दूषित फैसलाहरु गर्छन्। उनी भन्छन्, ‘धेरै टाढा जानै पर्दैन, ‘८२ वर्षकी माइली तामाङ लामाको सर्वस्व हरण नै काफी छ।’

प्रेरणालाई जग्गा दिन ज्ञानेन्द्रकै फुपुका छोराबाट घुस 
पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई जग्गा दिन राणाले रामकुमार प्रसाद शाहलाई गुमराहमा पारे। अनि ज्ञानेन्द्र शाहको फुपुको छोरामार्फत वासिङ्गटन डिसीमा आफ्ना मान्छे लगाए र बैंकमा पैसा हाल्न लगाए। यो, घुसको पुष्टि भइसकेको भन्छन्, उजुरकर्ताहरु। ज्ञानेन्द्र शाहकी फुपुको छोरामार्फत १५ करोड असुलेर २०७२ असार ६ गते प्रेरणा राज्यलक्ष्मी सिंहलाई नेपाल ट्रष्टको जग्गा दाइजो कामय हुने फैसला गरेको आरोप छ, राणमाथि।

उजुरकर्ता ठूली तामाङले राष्ट्रपतिलाई लेखेको निवेदनमा जग्गाको झगडामा न्यायाधीश राणाले ३० वकिल र वारेसकर्तामार्फत ३० लाख रुपैयाँ लिएको दावी गरेकी छन्। उनले त्यो पैसा फिर्तासँगै राणमाथि छानविनको माग गरेकी छन्। यस्तै, उनले थप सबुद छानविनको क्रममा निर्धक्कका साथ पेश गर्ने भनेकी छन्।

राणा परिवारको नाक काट्ने भए चोलेन्द्र
चोलेन्द्र शमशेर राणा परिवारबाट प्रधानन्यायाधीश हुने दोस्रो व्यक्ति हुन्। यसअघि त्रिलोक प्रताप राणा सर्वोच्चको १० औँ प्रधानन्यायाधीश बनेका थिए। उनी २०५३ फागुन ४ गतेदेखि २०५४ असोज १ गतेसम्म सर्वोच्चको प्रधानन्यायाधीश रहे।

त्रिलोक प्रतापले २०५३ कार्तिक १४ गते गरेको फैसला निकै चर्चामा रहयो। अहिले नेपाल सरकारले बन्द उद्योग चलाउने बताइरहेकै बेला त्यो बेला त्रिलोक प्रतापकै फैसलाले सुनसरीको दुहवीस्थित पशुपति विस्कुट इण्डसट्रिजका प्रबन्ध संचालक वशन्त कुमार चौधरीलाई सेवाबाट बर्खास्त गरेको थियो। 

सर्वोच्चको पहिलो प्रधानन्यायाधीश थिए हरिप्रसाद प्रधान। प्रधान परिवारबाट पछि थुप्रै प्रधानन्यायाधीश भए। यस्तै, सिंह र शाह परिवारलाई सर्वोच्चको नेतृत्व सम्हाल्ने धेरै पल्ट अवसर मिल्यो। तर, राणा परिवारको पालो बल्ल आएको छ। त्यो पनि १८ वर्ष पछि। चोलेन्द्र गणतन्त्रमा राणा परिवारको विरासत हुन्। गणतन्त्रमा राणा परिवारबाट राज्यको सम्मानित पदमा पुग्ने, पहिलो व्यक्तिको इतिहास उनले आफ्नो माममा लेखाएका छन्। २९ औं प्रधानन्यायाधीश बन्न लागेका उनी २७ वर्षपछि पूरा कार्यकाल खाने पहिलो प्रधानन्यायाधीश हुने छन्। तर, उजुरकर्ताले भनेअनुसार उनको असलीयत बाहिर आए उनले राणा परिवारको विरासत थाम्ने होइन, नाक काट्ने छन्।

संसदीय सुनुवाई समितिमा सांसदले सोधेका प्रश्नको चित्तबुझ्दो जवाफ नआए उनी अस्वीकृत हुने खतरा छ। कारण, पहिले चित्तबुझ्दो जवाफ नदिएको भन्दै यसअघि दीपकराज जोशी फेल भएका थिए। उनलाई संसदीय सुनुवाई समितिले थला पारेको थियो। ओमप्रकाशले संसदीय सुनुवाईको परीक्षा सजिलौ पास गरेको जस्तो छैन चोलेन्द्रलाई। जोशीमाथि खसेको पहाड उनीमाथि पनि नखस्ला भन्न सकिँदैन। सत्ताधारी दल नेकपाकै सांसदसँग रिसाइरहेका छन्। 

को हुन चोलेन्द्र ? 
२०१४ साल मंसिर २८ गते जन्मिएका चोलेन्द्र नेपालको खानदानी राणा परिवारका सदस्य हुन्। उनको काठमाडौंको सुकेधारास्थित गणेशगौरी मार्गमा स्थायी निवास छ। उनले कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन्। राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान। वीरसमशेरका भने पनाति। संसदीय सुनुवाईको परीक्षा पास गरे अब उनी सर्वोच्चको नेतृत्व सम्हाल्ने छन्। 

जंगबहादुर राणा मरेपछि भाई रणोद्दीपसिंह कुँवर केही समय श्री ३ महाराज प्रधानमन्त्री भए। तर, धीरशमशेरका १७ भाइ छोराको धैर्य टुटेपछि काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेको बताइन्छ। रणोद्दीपसिंह कुँवर नेपालको दशौँ प्रधानमन्त्री थिए। त्यसपछि जेठा वीरशमशेर ११औँ प्रधानमन्त्री एवं श्री ३ महाराजा भए। उबेला बडामहाराजा श्री ५ लाई पनि टक्कर दिन्थे राणा प्रधानमन्त्रीहरु।

चोलेन्द्र ११औँ प्रधानमन्त्री भएका वीरशमसेरका छोरा ईन्द्रशमशेरका नाति हुन्। चोलेन्द्रका पिताको नाम हो, युवराजशमशेर। उनी राजसभा स्थायी समितिका सदस्य भएपनि चोलेन्द्र राजनीतिमा नलागेका बताइएको छ। तर, उनको ढल्काव भने अहिलेको सत्तातिर रहेको अड्कल काटिन्छ। लामो समय अधिवक्ता भएर हिँडेका उनी २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। लामो समय अस्थायी न्यायाधीश रहेका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य भए।

पुनरावेदन अदालत बुटवलको कायम मुकायम मुख्य न्यायाधीश रहेकै बेला चोलेन्द्र २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए। २०७१ जेठमा उनी अदालतको स्थायी न्यायाधीश भए। सर्वोच्चको स्थानीय न्यायाधीश भएको ३ वर्ष पुगेको व्यक्ति मात्रै प्रधानन्यायाधीशका लागि योग्य ठहरिन्छ। यसअघि न्यायपरिषदले उनको नाम तेस्रो नम्बरमा राखेर पठाएकामा दीपकराज जोशीलाई संवैधानिक परिषदले सिफारिस गरेको थियो। जोशी संसदीय सुनुवाईबाट अस्वीकृत भएपछि दोस्रो नम्बरमा रहेका ओमप्रकाश मिश्र सिफारिस भए। उनको सेवा अवधि आउने पुस १७ मा सकिँदैछ। संविधानमा नयाँ प्रधानन्यायाधीशको सिफारिस वहालवालाको सेवा अवधि सकिनु एक महिना अघि नै गर्ने भनिएको भएपनि ढिलो गरी चोलेन्द्रको नाम सिफारिस भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ