arrow

नेपाल टेलिभिजनमा नयाँ कार्यकर्ता भर्तीको तयारी 

संचारमन्त्री भन्छन् : परीक्षा दिएर आएकाहरु गतिला भएनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७५ पुष २७ शुक्रबार
nepal-television-communication-minister-baskota.jpg

काठमाडौं। सरकारले आफ्नो स्वामित्व र नियन्त्रणरमा रहेको नेपाल टेलिभिजनमा नयाँ कार्यकर्ता भर्ती गर्ने बाटो खुल्ला गर्न लागेको छ। शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा पुगेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनमा करारमा कर्मचारी राख्ने बाटो कानुनी रुपमै खोल्न लागेको बताएपछि नेटिभीमा सत्तारुढ दलका कार्यकर्ता भर्ती हुने प्रष्ट भएको हो।

समितिमा बोल्दा मन्त्री बास्कोटाले स्थायी र परीक्षा पास गरेर नेपाल टेलिभिजनमा काम गरिरहेका पत्रकार कर्मचारीको अबमूल्यन समेत गरेका छन्। उनले स्थायीमा रहेका कर्मचारीको क्षमताले मात्रै नेपाल टेलिभिजनको समाचार लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने अवस्था नरहेको निष्कर्ष निकालिएको र अब करारमा कर्मचारी राख्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्। 

उनले भने, “परीक्षा पास गरेर आएका समाचार वाचक वाचिकाहरुको बोलीमा प्रभावकारी हुने अवस्था नरहेको व्यवहारिक अनुभवले बताएको छ, त्यसैले केहीलाई करारमा राखेर सो आवश्यकता पूर्ति गर्नुपर्ने अवस्था छ।” 

समावेशीतालाई असर नपर्ने गरी सो व्यवस्था गर्न लागिएको पनि उनले बताए। यही विषयमा मन्त्री बास्कोटा निकट श्रोतलाई कार्यकर्ता भर्तीको बाटो खुल्न लागेको हो टोलिभिजनमा ? भनेर सोध्दा उनले पनि टर्रो जवाफ फर्काउँदै भने “आम संचारमा पत्रकार आउँछन् नि, के को कार्यकर्ता हो ? कि हाम्रो पार्टीमा भएकाहरुलाई चाहिँ पत्रकारिता गर्न आउँदैन भन्ने लाग्या छ”? 

हाल नेपाल टेलिभिजनमा ७७ जिल्लाका करीब एक सय स्थानीय रिपोर्टर बाहेक ३ सय ८९ जना कर्मचारी छन्। ती कर्मचारीमध्ये समाचार र कार्यक्रम शाखामा संपादक,उपसम्पाद, रिपोर्टर सहित करीब ८० जना छन् भने क्यामेरा पर्सन, श्रव्यदृश्य सहित प्राविधिकहरु झण्डै एक सयको हाराहारीमा कार्यरत रहेको नेपाल टेलिभिजनका निर्देशक एवं सूचना अधिकारी नवराज नेपालीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ