arrow

टाटा मोटर्सको सेयरमूल्य एकैदिन ३० प्रतिशत घट्यो

logo
एएफपी,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
tata.png

मुम्बई। जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको छ। भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको पहिलो चौमासिकमा सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो।

मुम्बईस्थित कार उत्पादक टाटा मोटर्सले चीनमा जागुअरको माग घटेको तथा ब्रेक्जीटको अनिश्चिततासँगै बढ्दो ऋणका कारण समस्या आएको जनाएको छ। कम्पनीले सन् २०१८ को अन्तिम चौमासिक (सेप्टेम्बरदेखि डिसेम्बरसम्म) अवधिमा खूद नोक्सानी ३ अर्ब ८० करोड डलर (२ खर्ब ७० अर्ब भारतीय रुपैयाँ) भएको जनाएको छ। अघिल्लो वर्ष त्यही अवधिमा कम्पनीको नाफा १२ अर्ब भारतीय रुपैयाँ भएको थियो।

भारतीय कर्पोरेट इतिहासमै यो सबैभन्दा ठूलो नोक्सानी हो। ब्लुमबर्ग न्यूजका अनुसार यसअघि सन् २०१२ मा इन्डियन आयल कर्पोरेसनले सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो। “अहिले उद्योगका लागि कठिन घडी हो, तर हामी दिगो र नाफामुखी वृद्धि सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनेछौं,” जागुअर ल्यान्डरोभरका प्रमुख कार्यकारी राल्फ स्पेथले बताए।

चीनमा कारको बिक्री घटेसँगै जागुअर ल्यान्डरोभरले अघिल्लो साता विश्वभर चार हजार ५०० कामदार हटाउने निर्णय गरेको थियो।

ब्लुमबर्गका अनुसार विगत १२ महिनामा टाटा मोटर्सको सेयरमूल्यमा ५० प्रतिशतभन्दा बढी घटेको छ। विगत २६ वर्षमा टाटा मोटर्सको सेयरमूल्य एकै दिन यतिठूलो परिमाणमा घटेको यो पहिलोपटक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ