arrow

आन्तरिक लोकतन्त्रको लडाइँमा नेविसंघलाई साथ

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
nsu-bhimsendas.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सशक्त बनाउनु पर्ने बताएका छन्। लोकतान्त्रिक पार्टी भित्र व्यवहार त्यस्तो हुन नसकेको औंल्याउँदै उनले लोकतान्त्रिक आचरण र व्यवहार अपनाउनुपर्नेमा जोड दिए।

राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा प्राविधिक विद्यार्थी परिषदले प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेका ‘आन्तरिक लोकतन्त्र र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीका प्रमुख अतिथि पूर्व रक्षामन्त्री एवं सांसद प्रधानले पार्टीलाई सशक्त बनाउनका लागि तल्लो तहबाटै एकताबद्ध र पारदर्शी बनाउनुपर्ने बताए।

नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको आधारस्तम्भ रहेको बताउँदै प्रधानले विद्यार्थी आन्दोलनलाई अघि बढाउन कुशल नेतृत्व आउनु पर्ने बताए।

‘भोलि राष्ट्रको निर्माण गर्ने भनेको अहिलेका विद्यार्थीले नै हो,’ उनले भने, ‘त्यसैले जुट्नुस्, कांग्रेसलाई सशक्त बनाउन दबाब दिनुस्, हामी तपाईहरुको साथमा छौं, आन्तरिक लोकतन्त्रको लडाइँमा नेविसंघलाई मेरो साथ सधैँ रहने छ।’

नेविसंघको निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनलाई निस्तेज पार्न तथा लोकतान्त्रिक पद्धतिविरुद्ध पार्टीका केही नेताले संगठनलाई प्रयोग गर्न खोजे त्यसको प्रतिरोध गर्ने उद्घोष गरे।

नेपाली कांग्रेसका सिन्धुपाल्चोक सभापति विकास लामा, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेताहरु बलदेव तिमल्सिना, डिल्लीराम सुवेदी, युवराज पाण्डे, जीत शेरचन, सुशील भट्ट, लगायतको उपस्थितिमा कार्यक्रम भएको आयोजक समिति अध्यक्ष सुवास घिमिरेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ