arrow

शताब्दी पुरुष जोशी अध्ययन केन्द्र स्थापना गरिने

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
satyamohan-Joshi.jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र स्थापना गर्ने भएको छ ।

विसं २०७६ वैशाख ३० देखि एक वर्षसम्म मनाउने कार्यक्रम सार्वजनिक गर्न महानगरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । जोशी विसं २०७६ वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दै छन् ।

उक्त अध्ययन केन्द्र स्थापनाले जोशीका बारेमा अध्ययन गर्न चाहनेलाई सहयोग पुग्ने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए। पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार महानगरभित्रका उपयुक्त स्थानमा प्रतिमासहितको जोशीको नाममा पार्क निर्माण गरिनेछ । महानगरपालिकाभित्रको उपयुक्त बाटोलाई जोशीको नाममा नामाकरण गरिनेछ ।

जोशीलाई गोसाइँकुण्ड (सिलु) दर्शनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको कार्यसम्पादन समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष श्री गोपाल महर्जनले बताए। यसैगरी वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक’ प्रदान गर्ने बताइएको छ ।

त्यसैगरी सत्यमोहन जोशी भाषा र तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन र स्वर्णमुद्रा निस्काशन गर्ने निर्णय भएको सम्मेलनमा जानकारी दिइयो । यसैगरी सत्यमोहन जोशीका बारेमा विशेष स्मारिका प्रकाशन र उहाँको दिनचर्या समेटेर श्रव्यदृश्य सामग्री तयार पारिनेछ । पाटन सङ्ग्रहालयभित्र रहेको भण्डारखाल बगैँचालाई सुन्दर एवं व्यवस्थित बनाउन जोशीबाट उद्घाटन गरी शिलान्यास गर्ने योजना रहेको बताइएको छ ।

साथै जन्म शताब्दी महोत्सवको पहिलो दिन २०७६ वैशाख ३० गते जोशीलाई नगरपरिक्रमा गराउने जानकारी दिइयो । प्रमुख महर्जनले राष्ट्रका लागि योगदान गर्ने व्यक्ति सम्मान गर्न यो एक वर्षभरि नै कार्यक्रम मनाउने निर्णय गरेको बताए । उनले भने, “ज्यूँदोमा नै सम्मान गर्नुपर्छ भनेर यसको थालनी गरेको हुँ ।” ज्यूँदो छँदा वास्ता नगर्ने मृत्युपछि सम्मान गर्ने परम्परालाई तोड्न शतवार्षिकी कार्यक्रम गरिएको बताए।

महानगरले यसअघि नै जोशीको दिनचर्या र जीवनयापनलाई सहज बनाउन सवारीधान, ड्राइभर, गार्ड, मोबाइल फोनलगायत प्रदान गरेको छ । जोशीको शतवार्षिकी कार्यक्रम मनाउन महानगरका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा १११ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिको बैठकले एक वर्षभरि मनाउने कार्यक्रम छलफल गरी निर्णय गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ