arrow

हिन्दू स्वयंसेवक संघ नेपालले टुँडिखेलमा गर्‍यो संस्कृति ज्ञान परीक्षा

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
swami.jpg

काठमाडौं। हिन्दू स्वयंसेवक संघ नेपालले काठमाडौंको टुँडिखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरेको छ। उपत्यकाका दुई सयभन्दा बढी विद्यालयका छ हजारभन्दा बढी विद्यार्थीले सहभागीता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमल्सिनाले परीक्षाको उद्देश्यबारे जानकारी गराएका थिए। उनले आजका विद्यार्थी तथा युवा पुस्तालाई धर्म, संस्कृति र नैतिक शिक्षाको आवाश्यकता रहेको औँल्याए। उनले भने, ‘शिक्षा व्यवस्थामा आफ्नो शाश्वत धर्म, संस्कृति, नीति एवं राष्ट्रियताको ज्ञानलाई प्रमुख स्थान दिइनु पर्छ।’

नेपालका विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरेर विदेश जाने सपना पाल्नुभन्दा पनि आफ्नो योग्यता यसै देशको विकास र निर्माणमा लगाउने पर्नेमा जोर दिँदै नागरिक समाजका अगुवा तथा सामाजिक अभियन्ता डा. सुन्दरमणि दीक्षितले अभिभावक तथा शिक्षकहरूलाई देशलाई माया गर्ने शिक्षा प्रदान गर्न आह्वान गरे। ‘स्वामी विवेकानन्दका अनुसार शिक्षाको उद्देश्य मानव निर्माण हो तर, निर्मित भएका शिक्षित युवा विदेश पलायन गर्ने भए देशको निर्माण कसले गर्छ ?’ डा. दीक्षितले प्रश्न गरे।

हाम्रा समाजमा लुकेर रहेको सकारात्मक पक्षको उद्घाटन, त्यसबारे हाम्रा युवा पुस्तालाई सुपरिचित गराउने पुनीत उद्देश्ययुक्त यस अभियानले सार्थकता पाउनेमा आफू आश्वस्त रहेको कार्यक्रमका अतिथि वक्ता पूर्व शिक्षा सचिव महाश्रम शर्माले बताए।

उक्त परीक्षामा त्रिनिटी इन्टरनेशनल उ.मा.वि.का कक्षा १२ मा अध्ययनरत विद्यार्थी निरज साह प्रथम, नाइटेङ्गल उ.मा.वि. ललितपुरका आयुष साह दोस्रो र समता स्कूल काठमाडौँकी कक्षा ९ मा अध्ययनरत छात्रा सोविक्षा दाहाल तेस्रो भएकी छन्।

सहभागी विद्यार्थीहरूमध्ये ६८ जनाले ५० वटै प्रश्नको उत्तर मिलाइ शतप्रतिशत अङ्क प्राप्त गरेका थिए, जसमध्येबाट गोलाप्रथाबाट चयनित प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै २० जनाले सान्तवना पुरस्कार स्वरूप जनही एक–एक हजार रुपैयाँ प्रप्त गरे।

विद्यार्थीहरूमा आफ्नो धर्म एवं संस्कृतिप्रतिको जागरुकता तथा गौरवभाव जागृत गर्न कुनै प्रभावकारी प्रयत्न नगरिनु राष्ट्रको वर्तमान दुरावस्थाको कारण भएका बताउँदै आयोजक हिन्दू स्वयंसेवक संघ नेपालले आफ्नो धर्म, संस्कार र परम्पराबारे विद्यार्थीलाई परिचित गराउन विगत पाँच वर्षदेखि यो परीक्षा आयोजना गरिँदैआएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ