arrow

प्रकाश सायमीले यसरी सम्झिए बम आक्रमणमा ज्यान गुमाएका सिमप्रसाद गुरुङलाई

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
sim-prasad.jpg

काठमाडौं । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा परेर निधन भएका सिमप्रसाद गुरुङलाई वरिष्ठ साहित्यकार प्रकाश सायमीले सम्झेका छन् । 

उनले सिमप्रसादलाई चिन्न जरुरी रहेको भन्दै उनीसंग जोडिएको प्रसंग समेटेका छन् । 

सायमीले लेखेका छन् –‘सिमप्रसादजी पाँच छ वर्षअघि गोधूली संसार टोलमा मेरो छिमेकमा बस्न आउनु भएको थियो । उहाँले दमन बस्नेतले बेच्नु भएको घर शान्तिराम दाहालले किनेपछि सोही घर किनेर उहाँ बस्न आउनु भएको हो । उहाँ यहाँ आउनुअघि सिँगापुर आर्मीमा हुनुहुन्थ्यो । 

हाम्रो टोल छिमेकमा उहाँको गज्जबको व्यक्तित्व बन्यो करीब एकवर्षमै । उहाँ साफ सफाई, शान्ति सुरक्षा, अनि छरछिमेकलाई सहयोग गर्नमा आफैँ तल्लीन हुने गर्नुहुन्थ्यो । देश र देशको वर्तमान अवस्थालाई लिएर उहाँ प्रायः चिन्ता गरिरहनु हुन्थ्यो । 

लम्जुँगको गुरुङ परिवारमा जन्मेका सिमप्रसादजी बोलीचालीमा अति सहज र व्यवहारमा एकदम सादा व्यक्तित्व हुनुहुन्थ्यो । हरेक विहान उहाँ मलाई गुडमर्निँग सर भनेर सम्बोधन गर्नुहुन्थ्यो । 

उहाँ मैले जीवनमा भेटेका साह्रै साह्रै नै असल मित्रमध्ये एक हुनुहुन्थ्यो तर उहाँलाई गुमाउनुको पीडा मलाई मात्र होइन, हामी सम्पूर्ण गोधूली संसारवासीलाई नै परेको छ ।

शुक्रबार राति नख्खुस्थित एनसेलको कार्यालयमा विष्फोट हुँदा सिमप्रसादको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् । 

शुक्रबार राति देशभर एक दर्जन भन्दा बढी स्थानमा विष्फोट भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ