arrow

रविन्द्रको चिताको आगो ननिभ्दै कास्कीमा वामदेवको चर्चा

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
bamdev-gautem.jpg.jpeg

कास्की। राजनीतिक कति स्वार्थले भरिएको र निर्मम हुन्छ भन्ने कुरा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन पछिका चर्चा परिचर्चाले संकेत गरेको छ। 

कास्की २ बाट निर्वाचित जनप्रतिनिधी तथा सरकारका वहालवाला मन्त्री हेलिकप्टर दुर्घटनामा परि निधन भएसँगै उनको स्थानमा उनको राजनीतिक उत्तराधिकारीको खोजी शुरु भएको छ। 

ढीलो चाँडो यो खोजि हुनु स्वभाविकै थियो। तर चिताको आगो निभ्न पनि नपाउँदै उनको स्थानमा कस्लाई टिकट दिएर चुनाव लडाउने भन्ने चर्चा शुरु भएको छ। 

नेकपाका नेता कार्यकर्ताहरु पोखरामा उनको अन्तिम संस्कारमा सहभागि भइरहँदा उनले निर्वाचित भएको क्षेत्रबाट आगामी दिनमा कस्ले टिकट पाउला भन्ने चर्चा शुरु भएको हो। 

कतिपयले उनकी श्रीमती विद्यालाई नै उमेद्वार बनाउनु पर्ने चर्चा शुरु गरेका छन्। शुभेच्छुकहरुको चाहना रविन्द्रको पत्नीलाई उमेद्वार बनाउनु पर्ने देखिएको छ।

तर कतिपयले भने रविन्द्र अधिकारीले पनि मान्ने नेकपाका नेता वामदेव गौतमलाई पार्टीले उमेद्वार बनाउन सक्ने चर्चा गरेका छन्। 

रविन्द्र नेकपाका सचिवालय सदस्य समेत रहेका वामदेव निकट भनेर चिनिने गरेका थिए। यद्यपी उनको सम्वन्ध नेकपाका सबै नेताहरुसँग सुमधुर रहेको जानकारहरु बताउँछन्। 

नेकपाका अधिकांश नेताहरुले चुनाव जीतेर संघीय संसदमा उपस्थित जनाउँदा पनि एक्ला वामदेव गौतम संसदबाट बाहिर नै रहेका छन्। 

उनै वामदेवलाई सांसद बनाउन डोल्पादेखि काठमाडौं ७ सम्म खालि गराउने चर्चा भएको थियो। काठमाडौं ७ का सांसद रामविर मानन्धरले पार्टीमा राजिनामा दिएर गौतमको लागि छोड्न राजी समेत भएका थिए। तर जनस्तरबाट निकै ठूलो विरोध भएपछि भने मानन्धरको राजीनामा सेलायो। 

अधिकारीको निधनपछि फेरि कास्कीको राजनीतिमा गौतमलाई भित्र्याउने चर्चा शुरु भएको छ। अन्तिम संस्कारमा श्रीमती सहित गौतम पोखरा पुग्नुलाई पनि धेरैले अब हुने चुनावको प्रसङगसँग पनि जोडेर हेरेका छन्। 

एकातिर कास्की दुईमा चुनावको चर्चा शुरु हुनु अर्कातिर उनको शब अन्तमि श्रद्धाञ्जलीका लागि सर्वसाधारणका लागि राखिनु अघी प्रधानमन्त्रीले अनावश्यक रुपमा वाइडवडीको चर्चा निकालेर उनको मृत्युको शोकमा पनि विवाद खडा गरिदिएका छन्। 

प्रधानमन्त्रीले अधिकारी वाइडवडी प्रकरणमा दोषी नदेखिएको भन्दै शोक मनाउने बेलामा पनि अधिकारीलाई विवादमै ताने। 

अधिकारीको निधनसँगै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीको अभिव्यक्ति तथा वामदेवको चर्चाले राजनीति निर्मम र स्वार्थी दुवै हुन्छ भन्ने प्रष्ट्याएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ