arrow

दलालीमार्फत गैरकानूनी रुपमा ठूलो धनराशि खर्चिएर अमेरिका जानेहरुलाई तत्काल रोक्नुपर्छ : अधिवक्ता फुलारा 

logo
प्रकाशित २०७५ फागुन १८ शनिबार
Basudev-Phulara.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले नेपालीहरु गैरकानूनी रुपमा ठूलो धनराशि खर्चिएर अमेरिका जाने कुरालाई तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्। शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालीहरु गैरकानुनी रुपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेकोले यसलाई तत्काल समाधान गर्न नेपाल सरकार, सरोकारवाला निकाय र सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने बताए। 

उनले भने,‘गैरकानुनी रुपमा अमेरिका जाँदा ठूलो धनराशि नेपाली दलालमार्फत विदेशीने गरेको छ, यो कार्य रोक्न राज्य गम्भिर हुनुपर्छ। अहिले राज्यले यसबारेमा ध्यान दिएकोजस्तो मलाई लाग्दैन्।’

ईमिग्रेशन सेक्टरमा कार्यरत अधिवक्ता फुलाराले पछिल्लो समय दलालहरुले खुलमखुल्ला पचासदेखि ६० लाखसम्म ठगेर अमेरीकाको सपना देखाउने गरेको भन्दै त्यस्ता ठगबाट सजग रहन सबैलाई आग्रह समेत गरे।

गैरकानुनी रुपमा अन्य मुलुकको सिमाना हुँदै अमेरीका जानेहरुको लागि अमेरिका बसाई अत्यन्तै दुःखदायी रहेको पनि उनले चित्रण गरे । उनले भने,‘ईलिगल जानेहरुलाई धेरै दुःख छ, नेपालबाटै त्यसरी जानेलाई कडा कदम चाल्नुपर्छ।’

डोटीको चुडी, हाल आदर्श नगरपालिकास्थित शारदा हाइस्कुलबाट एसएलसी उतीर्ण गरेका  वासुदेव अमेरिकामा चर्चित अधिवक्ता हुन्। खासगरी अध्यागमनसम्बन्धी मुद्दामा उनी दखल राख्छन् र अमेरिकाका विभिन्न राज्यमा आइपर्ने अध्यागमन समस्या बोकेका सयौं नेपालीको मुद्दामा उनी बहस गर्छन्।

अहिलेसम्म उनी अमेरिकाको ३० वटा राज्यको भ्रमण गरिसकेका छन्। उनले भने,‘हामी विशेष गरेर ईमिग्रेशनसम्बन्धी बढि केन्द्रित हुन्छौं। भ्रमणको सिलसिला पनि त्यही हो। योसम्बन्धी प्राक्टिस गर्दा मजा लागिरहेको छ।’

उनले गैरकानूनी रुपमा दलालमार्फत अमेरिका जाने नेपालीहरुलाई रोक्नको लागि राज्यले अब ढिला नगरी प्रभावकारी कदम चाल्नुपर्ने पनि सुझाव दिए। उनले भने,‘अमेरिकामा अलपत्र पर्ने नेपालीहरुको संख्या पनि कमी छैन्। नेपाल सरकार, नागरिक समाज, सुरक्षा निकायले यो मानव तस्करीको जालो भत्काउनको लागि तत्काल कदम चाल्नुपर्छ।

होईन भने यो भोलिका दिनमा ठूलो समस्या र भयावह अवस्था सिर्जना हुनसक्छ।’८० लाख रुपैयाँ खर्च गरेर दलालीमार्फत त्यो पनि ज्यानको जोखिम मोलेर किन अमेरिका जाने भन्दै उनले प्रश्न तेर्साए। उनले भने,‘अहिले नेपाल सरकार सुतिरहेको छ, तत्काल यस्तो गैरकानूनी कामलाई रोक्नुपर्छ।’

आफूले पनि अमेरिकामा रहेका नेपालीहरुको कानुनी रुपमा नै सेटलमेन्ट होस् भनेर जनचेतना फैलाईरहेको उनको भनाई थियो। उनले भने,‘अमेरिकामा त्यतिकै केही हुँदैन् । धेरै मेहनत गर्नुपर्छ । भाषाको समस्या छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ