- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पेट्रोलबाट चल्ने गाडी भन्दा झण्डै ५ गुणा कम खर्च लाग्ने विद्युतीय कार राष्ट्रिय योजना आयोगले अझै पनि प्रयोग गरिरहेको छ । तत्कालीन उपाध्यक्ष स्वर्णीम वाग्लेको समयमा भित्रिएको सो विद्युतीय गाडी पेट्रोलबाट चल्ने गाडीको तुलनामा निकै सस्तो पर्ने भएपनि सिंहदरबारभित्र एक वर्षसम्म पनि अन्त भने यसको प्रयोग भएको देखिएको छैन ।
२०७४ साल पुष १४ गते वाग्लेले काँग्रेस नेता गगन थापा र नेकपा नेता स्व रविन्द्र अधिकारीलाई बोलाएर सो गाडी सार्वजनिक गरेका थिए । झण्डै एक वर्षसम्म कुनैपनि समस्या विना नै गाडी चलिरहेको योजना आयोगले जानकारी दिएको छ ।
बिवाइडी ४०० मोडेलको सो गाडीलाई योजना आयोगले त्यतिबेला ५५ लाख रुपैयाँमा खरीद गरेको जनाएको छ । सो गाडी बिवाइडी गाडीका लागि नेपालको आधिकारिक विक्रेता सिमेक्स इन्क प्रालिबाट खरीद गरिएको छ । अहिले सो गाडीको आधिकारिक मूल्य ६७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
एक पटक चार्ज गरेपछि ४ सय किलोमिटरसम्म कुद्न सकिने सो गाडी फुल चार्ज गर्नको लागि २ घण्टा लाग्ने बताईन्छ । यो बढीमा १ सय ४० किलोमिटर प्रतिघण्टासम्म कुद्ने गर्दछ । एक पटक पूरा चार्ज गराउनको लागि ८० यूनिट विद्युत खर्च हुने कम्पनीले जनाएको छ । यसलाई हिसाव गर्दा पेट्रोलबाट चल्ने गाडीभन्दा झण्डै ५ गुणा सस्तो पर्नै देखिएको छ ।
कम्पनीले नै अहिले आयोगको मूलद्वारमा एउटा चार्ज मेसिन जोडिदिएको छ । जसको लागि आफूहरुले पैसा तिर्न नपरेको योजना आयोगका प्रवक्ता शिवरञ्जन पौडेलले जानकारी दिए । आयोगले अहिले तत्काल अरु कुनै विद्युतीय सवारी खरिद गर्नेबारे भने कुनैपनि तयारी नरहेको जनाएको छ । सरकारले विद्युतीय सवारीलाई १० प्रतिशतमात्र भन्सार तिरे पुग्ने व्यवस्था गरेको छ ।