arrow

गलेश्वरधाममा भक्तजनको भीड

logo
प्रकाशित २०७५ फागुन २० सोमबार
trishul-shiva.png

गलेश्वर। महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। सोमबार श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकोले यस पटकको शिवरात्रि निकै पुण्यदायक मानिएको छ। शिवको प्रिय सोमबारका दिनै यो पर्व पर्दा झनै राम्रो र शुभ भएको भनेर आइतबार रातिनै टाढाटाढाका भक्तजन गलेश्वरमा आएका थिए। बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले पूजा गर्दा यो दिन निकै लाभ मिल्ने बताइएको छ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए। उनले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। कालीगण्डकी नदी किनारमा विशाल नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ।

मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयंसेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको छ। म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवनलगायतका जिल्लाबाट गलेश्वरको दर्शनका लागि भक्तजन आएका छन्।

गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँडेको अवस्थामा गला पतन भएकाले गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ।

पर्यटकको सुविधाका लागि उपल्लो शिखमा पक्की सिँढी निर्माण

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–५ उपल्लो शिखमा पर्यटकको सुविधाका लागि पक्की सिँढी निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिकाको रु चार लाख ४५ हजार र स्थानीयको रु ४५ हजार बराबरको जनश्रमदानबाट उक्त पक्की सिँढी निर्माण भएको सिँढी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश पाइजाले जानकारी दिए।

यो पक्की सिँढीशिख देउरालीदेखि उपल्लो स्वराँ जाने उपल्लो बाटोसम्म ४८ मिटरको हुने र अहिलेसम्ममा ६० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताए। सिँढी निर्माण भएपछि स्वराँ जाने पर्यटक र स्थानीयवासी लाभान्वित हुने अध्यक्ष पाइजाको भनाइ रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ