arrow

प्रेस स्वतन्त्रताविना लोकतन्त्रको महत्व हुन्न : काङ्ग्रेस सभापति

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
deubar-biratnagat-NC.jpg

विराटनगर। नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्राविना लोकतन्त्रको महत्व नरहने बताएका छन्।विराटनगरबाट प्रकाशित हुने ‘न्यू सृष्टि दैनिक पत्रिका’को आठौँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको अन्योन्याश्रित सम्बन्ध छ भने।

सभापति देउवाले नियमनको नाम सामाजिक सञ्जालमा सरकारले नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मूल्यमान्यताविपरीत हो भन्दै सङ्घीयतालाई बलियो बनाउन सरकारले प्रतिपक्षको साथ र सहयोग लिएर हिँड्न सक्नुपर्ने सुझाव दिए। उनले सङ्घीयता अब नेपालको वास्तविकता भइसकेको प्रसङ्ग उल्लेख गर्दै सङ्घीयतालाई पूर्णता दिन अझै विधेयक र कानून बन्नुपर्छ भने। सभापति देउवाले प्रतिपक्षको भूमिकामा रहेको काङ्ग्रेस अब सशक्त भूमिका निर्वाह गर्ने तयारीमा जुटेको जानकारी दिँदै सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारले पहल गर्नुपर्छ भने।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नुपर्ने बताए। उनले सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रले दिएको योगदान सराहनीय छ भने। मुख्यमन्त्री राईले मुलुकमा अब सबै किसिमको अप्ठ्यारा पार भइसकेकाले विकास र समृद्धिको यात्रामा सबैलाई अघि बढ्न आग्रह गरे।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले निष्पक्ष र सत्य समाचार लेख्नमा सर्वोच्चता हासिल गरेको ‘न्यू सृष्टि दैनिक’को सफलताको शुभकामना दिए। उनले सत्तापक्ष र विपक्षीले एकआपसमा सहमति गरेर नै अघि बढ्नुपर्ने धारणा राख्दै प्रदेशसभाको तेस्रो अधिवेशनले प्रदेश नं १ को राजधानी र नाम पनि टुङ्गो लगाउने घोषणा गरे।

क्रिकेट खेलाडी पारश खड्का र हास्यकलाकार मनोज गजुरेल मुलुकमा शान्ति स्थापना र विकासका काममा एकजुट भएर लाग्नुपर्ने धारणा राखे। कार्यक्रममा न्यू सृष्टि दैनिकका प्रकाश एवं प्रधान सम्पादन शङ्कर खरेलले पत्रिकाले आफ्नो स्थापनाकालदेखि नै देश र जनताका लागि समाचार पस्किरहेको धारणा राख्दै समाजमा पिछडिएका र पछौटेपनका क्षेत्रमा रचनात्मक काम पनि गरिरहेको चर्चा गरे।

सोही कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी पारश खड्का, हास्यकलाकार मनोज गजुरेल, गायक कलाकार रामा मण्डल, गायिका आनी छोइङ डोल्पा, डा ज्ञानेन्द्रमानसिंह कार्की र सञ्चारकर्मीद्वय कुमार लुइँटेल र गोपाल काफ्लेसहित २१ जनालाई पुरस्कृत पनि गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ