काठमाडौँ। सरकारमा सहभागी दलका शीर्ष नेतासँगको छलफलपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा (एमाले) र अन्य दलका तर्फबाट आजै थप मन्त्री नियुक्ति गर्ने बताइए पनि अन्य दलसँगको छलफल बाँकी रहेकाले विस्तार हुन सकेन। एमाले स्थायी समितिको मङ्गलबारको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको थियो ।
एमाले स्थायी समितिका सदस्य शङ्कर पोखरेलले गठबन्धनमा सहभागी दलका नेतासँगको छलफल सकिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो। एमाओवादीले पाउने मन्त्रालयमा मन्त्री नियुक्ति भइसके पनि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त) लगायत दललाई दिइने मन्त्रालय र ती दलबाट आउने नामसहितका आधारमा मन्त्रिमण्डल विस्तार हुनेछ।
तराई मधेसको आन्दोलनलाई वार्ताबाट समाधान गर्न तथा पेट्रोलियम पदार्थको अभावबारे राजनीतिक छलफल चलेको तथा राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री÷परराष्ट्र मन्त्री कमल थापा विदेशमा रहनुभएकाले सरकारको पूर्णतामा ढिलाइ भएको हो । नेकपा (संयुक्त) ले सरकारमा जानेबारेमा छलफल गर्न यही कात्तिक २० गते आफ्नो पोलिटब्युरो बैठक राखेको छ ।
स्थानीय विकास मन्त्रालय राप्रपा नेपालले पाउने निश्चित भए पनि अन्य साना दलको मन्त्रालय टुङ्गो लागेको छैन । एमालेले पाउने भनिएका अर्थ, रक्षा, सञ्चार आदि मन्त्रीमा योग्यता, क्षमता, प्रत्यक्षमा निर्वाचित, भूगोल, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिइएको छ ।
आकाङ्क्षी बढेका बेला एमालेभित्र आन्तरिक एकता सुदृढ बनाएर समावेशीताका आधारमा मन्त्री चयन गर्नु प्रधानमन्त्री ओलीका लागि चुनौतीपूर्ण देखिए पनि अब चाँडै पूर्णता पाउने एमाले नेताले जनाएका छन् ।