arrow

के नेपाल जलवायु परिवर्तनको चपेटामा पर्दैछ ?

logo
प्रकाशित २०७५ चैत ९ शनिबार
weather-day.jpg

काठमाडौं। ‘मेरो सूर्य, मेरो पृथ्वी, हाम्रो मौसम’ नाराका साथ विश्व मौसम दिवस मनाइँदैछ। मार्च २३ लाई संसारभरि विश्व मौसम दिवसका रूपमा मनाउने गरिन्छ। सन् १९५० को मार्च २३ मा विश्व मौसम सङ्गठनको स्थापना भएको दिनको सम्झनामा यो दिवस सन् १९६१ देखि मनाउन थालिएको हो।

नेपालले भने सन् १९६६ मा विश्व मौसम सङ्गठनको सदस्यता लिएपछि विश्व मौसम दिवस मनाउन थालिएको हो। यसैगरी मार्च २२ लाई संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्व पानी दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा यी दुवै दिवसलाई समेटेर सप्ताहव्यापी रूपमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको रूपमा मनाउने गरिएको छ। 

विश्व पानी दिवस र विश्व मौसम दिवसको सन्र्दभ पारेर नेपालमा चैत ३ गतेदेखि जारी राष्ट्रिय जल तथा मौसम सप्ताह, शनिबार मौसम दिवस मनाएर घोषणापत्र जारी गर्दै समापन हुँदैछ। पानी र मौसमबीचको घनिष्ट सम्बन्ध भएकाले १० वर्ष यता नेपालमा राष्ट्रिय जल सप्ताह मनाउन थालिएको हो। जल तथा ऊर्जा आयोग सचिवालयको संयोजनमा मनाइने सप्ताहले पानी र मौसमको वर्तमान परिवेश, महत्व र यससँग जोडिएका समस्यासँग जुध्ने प्रयासका सन्र्दभमा विभिन्न छलफल र कार्यक्रम गरिएको सचिवालयले जनाएको छ । 

स्वच्छ पानीको महत्व तथा बदलिँदो जलवायु र स्थानीय मौसममा त्यसको असरबारे जनचेतना फैलाउन र जलश्रोत तथा त्यसको दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्मको ध्यानाकार्षण गराउने उद्देश्यले हरेक बर्ष विश्व पानी दिवस र विश्व मौसम दिवस मनाइँदै आएको समितिका उपाध्यक्ष एवं आयोगका सहसचिव डा ऋषिराम शर्माले बताए। 

सन् १९९२ देखि सुरु भएको विश्व पानी दिवस नेपालमा भने सन् २००८ बाट मात्र मनाउन सुरु गरिएको हो। स्वच्छ पानीको महत्व र यसको स्रोतहरुको दिगो ब्यवस्थापन र वकालतका लागी हरेक वर्षको २२ मार्चमा विश्व पानी दिवस मनाउने गरिएको छ। यस्तै मौसमको महत्वका विषयमा चर्चा गर्दै  विश्व मौसम दिवस मार्च २३ तारिखमा मनाउने गरिन्छ। जलसप्ताह भने सन् २००९ देखी मात्र मनाउन सुरु गरिएको हो।

के हो नेपालमा देखिएको समस्या ? 
पृथ्वी र सूर्यवीचको दुरी तथा पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने कक्षका आधारमा पृथ्वीको स्थान विशेषको जलवायु निर्देशित हुन्छ। सूर्यबाट प्राप्त हुने तापशक्तिमा खासै उतार चढाव नभए पनि, दुई सय वर्षदेखि पृथ्वी क्रमिक रुपमा तातिन थालेको छ । यसको फलस्वरूप पृथ्वीमा जलवायु परिवर्तन हुनुका साथै विषम मौसमी अवस्थाका घटनाहरूमा वृद्धि भएको छ। 

नेपालकै कुरा गर्दा सन् १९७० देखि सन् २०१५ सम्ममा अधिकतम तापक्रममा वार्षिक वृद्धि शून्य दशमलव ०५६ डिग्री सेल्सियस रहेको छ । यदि यही दर कायम हुने हो भने अबको एक सय वर्षपछि करिब ५ डिग्रीसम्म अधिकतम तापक्रम वृद्धि हुने डा शर्माको भनाइ छ । 

नेपालमा हिमनदीहरू संकुुचन हुने, हिमतालको आकारमा वृद्धि, वर्षाका दिनहरू बढ्नु, लामो समयसम्म खडेरी पर्ने, ठूला बाढी र डुबानका घटना बढ्ने, उच्च पहाडी भू–भागमा डेङ्गी लगायत लामखुट्टेको प्रकोप बढ्ने, साविकमा हुँदै आएका क्षेत्रमा कृषि तथा फलफूल खेती नहुने, नदी जल प्रवाहमा ह्रास आउने, पानीका मुल सुक्ने लगायत समस्या जलवायु परिवर्तनका कारण देखापरेका नमूना हुन् । कतिपय स्थानमा जलवायु परिवर्तनकै कारण मानव बसाइँ सराइ पनि भएको पाइन्छ । भूमिगत जल सतह क्रमशः घट्दै जानुमा समेत जलवायु परिवर्तनलाई कारक मानिएको छ। मौसमले मानव दिनचर्यालाई समेत प्रत्यक्ष प्रभाव पारिराखेकाले मौसम, सूर्य र पृथ्वीवीचको सम्बन्ध दर्शाउन र यसको महत्व पहिचानका लागि यस बर्षको नारा राखिएको हो । 

नेपालमा हुने कूल वर्षामध्ये ८० प्रतिशत मनसुनको समयमा र बाँकी २० प्रतिशत अन्य समयमा हुने गर्छ । मनसुनको समयमा नदी खोलामा बग्ने पानी वा सोझै आकाशबाट परेको पानीलाई संग्रह गर्न सकिएमा अहिलको जस्तो पानीको भयावह अवस्थालाई न्यून गर्न सकिने विज्ञहरुको सुझाब छ। बाढीको रूपमा बग्ने पानीलाई नदी खोलाहरूमा सम्भव भएसम्म बाँध बाँधेर केही समयसम्म रोक्न सकिएमा पनि तराई क्षेत्रमा वर्षेनी हुने डुबान समस्या न्यून गर्न सकिने बाढी पूर्वानुमान महाशाखाले बताउने गरेको छ। 

यसका साथै प्राकृतिक रूपमा रहेका ताल तथा पोखरीमा आकाशे पानीको भल जम्मा गर्ने तथा आवश्यकता अनुसार पोखरी तथा जलाशय निर्माण गरी आकाशे पानीलाई भण्डारण गर्न सकिएको खण्डमा पानीको संकट टार्न सकिने पानी बिशेषज्ञ अजय दिक्षितले जानकारी दिए। यस्ता किसिमका जल भण्डारबाट एकातिर बाढी, डुबानजस्ता समस्यालाई कम गर्न सकिने र अर्कोतर्फ भूमिगत जलस्रोतलाई पुनर्भरण गर्न र आवश्यकता अनुसार सिँचाइ लगायत अन्य प्रयोजनका लागि पनि उपयोगमा ल्याउन सकिने बिज्ञहरुको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ