arrow

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

logo
प्रकाशित २०७५ चैत १० आइतबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।  उनि उपचाररत हेम्स अस्पतालले आइतबार स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उनको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ ।

उनलाई अहिले पनि सघन उपचार कक्ष (आइसियु)मै राखेर उपचार गराइएको विज्ञप्तिमा जनाइएको छ । शुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि नेता सिटौला अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेकाले समस्या उत्पन्न भएको चिकित्सकहरुले जानकारी दिनुभएको छ । उनलाई रगतको मात्रा बढाउनका लागि शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

नेता सिटौलालाई धेरै रगत आवश्यक पर्ने भएपछि उनका शुभेच्छुकहरुले आज अस्पताल परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेका छन् । ‘दुःख बाँडौँ, सुख साटौँ’ भन्दै यो अभियानमा स्वतःस्फूर्त कांग्रेस तथा पार्टीका भ्रातृ सङ्गठनका कार्यकर्ताहरुले रक्तदान गरिरहेको नेपाल विद्यार्थी सङ्घका नेता युवराज पाण्डेले जानकारी दिए ।

रक्तदान गर्न नेविसङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घलगायत प्रतिनिधि, सञ्चारकर्मीसहित अस्पताल पुगेको उनले बताए ।

नेविसङ्घका अर्का नेता सुशील भट्टका अनुसार दिउँसो १२ बजेसम्म १०७ जनाले रक्तदान गरेका छन् । रक्तदानका लागि आउने शुभेच्छुक बढ्दै गएकाले अझै केही समय कार्यक्रम जारी रहने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ