arrow

आफ्ना विश्वासपात्र थपलियालाई ओलीको पुरस्कार, रातारात नियुक्ति किन ?

logo
प्रकाशित २०७५ चैत ११ सोमबार
dineshchandra_thapaliya.jpg

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तको रुपमा सिफारिस गरेका दिनेशकुमार थपलिया संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्। आयोगका प्रमुख अयोधीप्रसाद यादवको आईतबार कार्यकाल सकिएपछि सोमबार नै बहालवाला सचिवलाई सिधै संवैधानिक आयोगको प्रमुखमा सिफारिस गरेको हो । 

स्थानीय प्रशासन सम्बन्धी जानकार र प्रष्ट वक्ताको रुपमा रहेका थपलियालाई निजामती सेवामा प्रवेश गरेदेखि नै तत्कालीन एमाले निकट कर्मचारीको रुपमा औल्याउने गरिएको थियो । राजनीतिक रुपमा समेत कुटील मानिने उनी विशेषगरी प्रधानमन्त्री केपी ओलीका निकटस्थ समेत मानिन्छन् । संखुवासभा स्थायी घर भएका उनी निजामती सेवामा प्रवेश गरेपछि विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारी समेत भईसकेका छन् । निजामती सेवाबाट पार्टीलाई गरेको सहयोगको आधारमा पनि उनलाई पुरस्कार स्वरुप बहालवाला सचिवबाटै सिधै संवैधानिक आयोगको प्रमुखको जिम्मेवारी दिईएको हो । 

थपलियाको पनि कार्यकाल यहि बैशाखमा सकिँदैछ । मुख्यसचिव र अन्य कुनै राजनीतिक नियुक्तिमध्ये कुनै एकबाट उनी पुरस्कृत हुने चर्चा पहिलेदेखि नै चल्दै आएको हो । मुख्यसचिवको मैदान खाली नभएपछि उनलाई अवकाश पाउनु पूर्व नै निर्वाचन आयोगको प्रमुखको जिम्मेवारी दिईएको हो । तर, खाली भएको भोलिपल्टै संवैधानिक परिषद्को बैठक बसेर उनलाई सिफारिस गरिनुलाई भने गम्भीरताका साथ हेरिएको छ । 

देशमा संघीयता जारी भएपछि सरकारलाई कर्मचारी समायोजन, प्रदेश र स्थानीय तहमा स्रोत व्यवस्थापन जस्ता कार्य सम्पन्न गर्नको लागि चुनौती बढिरहेको बेलामा त्यसको कार्य सम्पन्न गर्नको लागि थपलियाले महत्वपूर्ण पिल्लरको रुपमा काम गरेका थिए । निर्वाचनको समयमा पार्टीलाई गुप्त रुपमा सहयोग गर्ने गरेको समेत चर्चा चल्ने गरेको थियो । उनी पेशाका कारण पार्टीको सदस्यता नलिएको भएपनि पार्टीप्रति एक इमान्दार शुभेक्षुकको रुपमा सक्रिय थिए । 

आफ्नो सेवाकालदेखि पार्टी र पार्टीका नेताहरुलाई गरेको सहयोगबापतको पुरस्कार स्वरुप उनी अहिले निर्वाचन आयोगको प्रमुख बनेको चर्चा समेत चल्न सुरु भएको छ । उनी सो पदमा ६ बर्षको लागि नियुक्त भएका हुन् । निजामती सेवामा हुँदा पनि अध्ययनशील र बौद्धिक कर्मचारीको छवि बनाउन सफल उनी २०४९ सालदेखि नै तत्कालीन एमालेसँग निकट थिए । 

निर्वाचन आयोगका प्रमुख आयुक्त यादवले आईतबार मात्रै अवकाश पाएका हुन् । अहिले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका गएको र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा समेत बैठकमा उपस्थित हुन नसक्ने समयको सदुपयोग गर्दै ओलीले उनलाई रिक्त भएको भोलिपल्टै प्रमुख नियुक्त गरेका हुन् । प्रचण्ड आएपछि पदमा वार्गेनिङ गर्नुपर्ने देखेर पनि ओलीले हतारमा यस्तो सिफारिस गराएको समेत हुनसक्ने नेकपा निकट स्रोतले जनाएको छ । अन्य संवैधानिक निकायमा महिनौंदेखि रिक्त पद रहँदासमेत वास्ता नगरेका ओली सरकारले यो पदमा भने रातारात नियुक्ति दिनुले पनि यो कुरालाई पुष्टि गरेको छ । सोमबारको संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ।

यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त भएका थिए । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य हुन्। परिषद्का सदस्य एवं प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक भएकाले परिषद् बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाएको अध्यक्ष तिमिल्सिनाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ