arrow

अख्तियार र अदालत सरकारको ईशारामा : पौडेल

logo
निरंजन कुमार साह,
प्रकाशित २०७५ चैत १४ बिहिबार
ramchandra-poudel4.jpg

जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार र अदालतलाई सरकारले आफ्नो ईशारामा चलाएको बताएका छन् । विहिवार नेपाल प्रेस युनियन धनुषामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने,'अहिलेको अवस्थामा अख्तियार र अदालतलाई समेत सरकारले आफ्नो ईशारामा चलाईरहेको छ त्यसैले वाईडबडि प्रकरणमा अख्तियारले जति भ्रष्टाचार देख्नुपर्ने थियो त्यति देखेन ।'

नेता पौडेलले राजनीतिक पार्टीहरुको संरक्षणमा नै देशमा ठुला ठुला घोटाला भईरहेको तर्क राखे। देशमा जे जति ठुला घोटाला भएको हो त्यो विना राजनीतिक सहयोगको सम्भव नरहेको भन्दै नेता पौडेलले राजनीतिक पार्टीहरुले भ्रष्टाचारीहरुलाई ओली सरकार आफ्नो संरक्षणमा राखेको बताए ।

 त्यस्तै वर्तमान सरकारले रोजगारीको कुरा मात्र गरेको तर रोजगारी सृजना गर्नको लागि सरकारले कुनै काम नगरेको नेता पौडेलले बताए । उनले भने, 'रोजगारी भत्ता दिएर देश समृद्ध हुन सक्दैन्, समृद्धिको लागि रोजगारीको सृजना गर्नुपर्छ तब मात्र देश समृद्ध हुन सक्छ ।'

पञ्चायती व्यवस्थामा १४ वर्ष र राजा ज्ञानेन्द्रको प्रतिगमन बेला १ वर्ष गरी कूल १५ वर्ष जेल जीवन बिताएको सम्झदै पौडेलले भने, 'कुनै अपराध गरेर जेल गएको होइन म आस्थाको बन्दी बनेर जेल बसेको हु । त्यतिबेला मैले पनि जेलमा बस्दा पञ्चायती व्यवस्थालाई मानिदिएको भए १ सेकेन्ड पनि जेलमा बस्नु पर्ने थिएन । त्यसैले अहिले प्राप्त उपलब्धि संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नु नै आफ्नो पहिलो कर्तव्य हो ।'

उनले थपे 'तर अहिले त्यस उपलब्धि र व्यवस्थामा शंकाको बादल मडारिएको मैले देखिरहेको छु । किन अहिलेको दुईतिहाइको कम्युनिस्ट पार्टीको शक्तिशाली दुई शिखर पुरुषको अभिव्यक्तिले पनि त्यो व्यवस्थामाथि खतरा रहेको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिधै भनिसक्नु भयो कि लोकतन्त्र रहेकाले देशमा विकास गर्न सकिएन । हाम्रो व्यवस्था भएको भए सबै काम सजिलै गर्न सकिन्थ्यो । तर लोकतन्त्रका कारण गाह्रो भयो भनेर प्रचण्डले अभिव्यक्ति  दिनुभएको छ ।'  

'त्यसैगरी प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीका काम पनि लोकतन्त्रको ठीक विपरीत भइरहेको छ । देशका संवैधानिक संस्थालाई कमजोर पार्ने काम गरिरहनुभएको छ । विभिन्न मन्त्रालयमा रहेका अधिकार पनि तानेर आफ्नो प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत गरिरहनुभएको छ' उनले भने ।

कार्यक्रम मा नेपाली कांग्रेस का केन्द्रीय सदस्य चन्द्र भण्डारी, महेन्द्र यादव, राम कृष्ण यादव, राष्ट्रिय सभा सदस्य मुक्ता यादव, नेपाली कांग्रेस धनुषाको सभापति महेस संकर गिरी, उपसभापति संन्तोष यादव , पुर्ब संसद डाक्टर चन्द्रमोहन यादब, जनकपुरधाम उपमहानगरपालिका नगर सभापति मनोज साह, युवा नेता प्रफुल्ल घिमिरे, लगायतका नेताकार्यकर्ता को उपस्थित रहेको थियो ।



नयाँ