रोम विधान तत्काल अनुमोदन गर्न सभामुखलाई ध्यानाकर्षण
प्रकाशित २०७५ चैत १४ बिहिबार
227
Shares
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख कृष्णबहादुर महरासँग भेटी सुशासन कायम गर्न माग गरेको छ । समाजका सभापति उत्तम पुडासैनीको नेतृत्वमा सिंहदरबारस्थित कार्यकक्षमा गएको प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने र त्यसका लागि विशेष पहल गर्न आग्रह गरेको हो ।
सभामुख महराले समाजले अघि सारेका विषयहरुप्रति आफू सकारात्मक भएको बताउँदै यसबारे सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे। उक्त विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन सभामुख महराले समाजलाई आग्रह गर्नुभएको समाजले जनाएको छ ।
उक्त प्रतिनिधिमण्डलमा सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमिल्सना, नम्रता खरेल, सरस्वती ढकाललगायतको समूह सहभागीता थियो । समाजले प्रत्येक वर्ष चैत १७ को सेरोफेरोमा सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको जनाइएको छ ।