arrow

पार्टीका नेतालाई पनि बारको चुनाव, सिटौलाले झापा पुगेर हाले भोट 

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
krishna-sitoula-bar-election.jpg

काठमाडौं। शनिबार देशका विभिन्न स्थानमा भएको नेपाल बार एशोसिएसनको चुनाव नेताहरुलाई पनि लागेको छ। देशका विभिन्न ३५ स्थानमा भएको चुनावमा कानून व्यवसायीहरुसँगै अन्य विभिन्न पेशाका मतदाताहरुले समेत मतदान गरेका छन्। मूल पेशा अरु नै भएपनि बार एशोसिएसनमा सदस्यता लिएकाहरु समेत यो निर्वाचन प्रक्रियामा सहभागी भएका छन्।

यसै क्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलाले झापाको चन्द्रगढीमा पुगेर एशोसिएनसको चुनावमा भोट हालेका छन् । अस्वस्थताका कारण अस्पताल भर्ना भएर केहीदिन अघि डिस्चार्ज भएका सिटौलालाई चिकित्सकले १५ दिनसम्म आराम गर्नको लागि सुझाव दिएका थिए । तर, कानून व्यवसायीहरु र लोकतान्त्रिक मूल्य र मान्यतालाई प्रोत्साहन गर्नको लागि उनी झापा पुगेर चुनावमा भोटहालेको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए । सिटौंला पञ्चायती शासनकालदेखि नै कानून व्यवसायी संस्थाहरुमा आवद्ध थिए ।  

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन भएको छ । बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदानका लागि योग्य थिए । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान भएको छ ।  

नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन्। 

बारको २५ सदस्सीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी परेको छ । तीन वर्षेका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन्।

देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि काठमाडौंमा मतगणना हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए। काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा निर्वाचन भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ