arrow

प्रधानमन्त्री आउने भएपछि रातारात बाटो पिच

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
bato-peej.jpg

मोरङ । मोरङको उर्लाबारीस्थित मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको २५ औं रजतजयन्ती उद्घाटन गर्न आइतबार प्रधानमन्त्री आउने कार्यक्रम तय भएपछि रातारात बाटो कालोपत्रे गरिएको छ।

केही समयअघि राष्ट्रपति आउँदा पनि कालोपत्रे नभएको सो सडक प्रतिष्ठानको नियमित कार्य भएको भन्दै कालोपत्रे आफूखुसी गर्न थालेको हो। प्रतिष्ठान छिर्ने ठाउँसम्म करिब तीन सय मिटर बाटोमा मात्र पिच थालिएको छ।

त्यसबाहेक रहेको कच्ची सडकलाई वास्ता गरिएको छैन। पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण शनिश्चरे बजारसम्मको सो सडकमा उर्लाबारी नगरपालिकाको ११ लाख, प्रतिष्ठानको १८ लाख ३८ हजार गरी कुल २९ लाख ३८ हजारमा उपभोक्ता समितिमार्फत सो बाटो निर्माण गरिएको प्रतिष्ठनाका कार्यकारी निर्देशक विनोद आर्याल बताउँछन्।

चैत १२ गतेदेखि प्रतिष्ठानले बाटो पिच गर्न थालेको हो। अहिले बाटोभरि अलकत्रा छरिएको छ। तर, नगरपालिकासँग प्रतिष्ठानले बाटो निर्माणको कार्यादेश लिएको छैन। नगरपालिकाभित्र बाटो निर्माण गर्नुपरे उपभोक्ता समितिमार्फत सम्झौता आवश्यक पर्छ।

नगरपालिकाले भुक्तानी भने दिएको छैन। यसरी सडक निर्माण गर्दा प्राविधिक मूल्यांकन आवश्यक पर्ने इन्जिनियर बताउँछन्। प्राविधिक मूल्यांकनबेगर सडक निर्माण गैरकानुनी रहेको उर्लाबारी नगरपालिकाका एक इन्जिनियरले बताए।

प्रतिष्ठान स्व. नेता मदन भण्डारीको नाममा स्थापित संस्था हो। तत्कालीन एमाले नेताहरूको मात्रै पहुँच रहेको उक्त प्रतिष्ठानले सामाजिक कार्य गर्ने, सीपमूलक तालिम तथा शिक्षण गराउने गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ