arrow

कलेजमा माफिया लेख्ने नेविसंघका ११ विद्यार्थी पक्राउ

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
msu.jpg

काठमाडौँ । पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरुको लापरवाहीका कारण परीक्षा दिनबाट बञ्चित ३ सय ९१ विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले आन्दोलन थालेको छ ।  नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेपछि प्रहरीले धरपकड गरेको छ । नेविसंघले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गरेको छ ।  

मध्य बानेश्वरको एपेक्स कलेज अगाडीबाट प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरु नवराज त्रिपाठीसहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मनिष सिंखडा , चेतराज कँडेल( सुजन ),पौवल बज्राचार्य,अर्बत खड्का,केयुर न्यौपाने, कृष्ण पुडासैनी,सरोज थापा, प्रशान्त थापा,दिपेश ओलि,निराज घिमिरे र सुरज ऐर रहेका छन् ।

नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसंघले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो ।

नेविसंघका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिए ।

“कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा विकास हुँदै गएकाले हामी आन्दोलन गर्न बाध्य भएका हौँ”, उनले भने । क्याम्पसमा भर्ना गराउने तर परिक्षा दिनबाट बञ्चित गराउने राज्यको नीति ठिक नभएको उनको भनाइ छ ।

विद्यार्थीहरुले सात लाख शुल्क तिरेर पढेपनि परीक्षा दिन भने पाएका छैनन् । पीडित विद्यार्थीको भविश्य सुनिश्चित नगरेसम्म नेविसंघले निरन्तर आन्दोलन गर्ने नेता त्रिपाठीले बताए । विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा नेविसंघका ११ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ