विकास र सम्बृद्धिको बाटोमा नेपाल र भारत संगसंगै जानुपर्ने – राजदूत मन्जिव सिंह पुरी
प्रकाशित २०७५ चैत १७ आइतबार
397
Shares
काठमाडौं । नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरीले विकास र सम्बृद्धिको बाटोमा नेपाल र भारत संगसंगै जानु पर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप) ले आयोजना गरेको ‘उदयमान भारत र यसको विदेश नीति’ को सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै राजदुत सिंहले छिमेकी देशको नाताले नेपाल र भारतको हरेक विकास तथा सम्बृद्धिमा दुबै देश सँगै अघि बढ्नु पर्ने बताएका हुन् ।
उनले भर्खरै भएको लगानी सम्मेलनबारे बोल्दै अरूण तेस्रोमा भारत र नेपाली लगानी कर्ताले ठुलो लगानी गरेको बताउँदै दुबै देशको लागि यस मार्फत सम्बृद्धिमा अघि बढ्न सहयोग पुग्ने बताए ।
त्यसैगरी नेपाल भ्रमणमा आएका अर्का वक्ता अखिल भारतीय विद्यार्थी परिषद्को राष्ट्रिय संगठन मंत्री सुनील अम्बेकरले भारतको विकास नेपालको सहभागीता विना सम्भव नहुने बताएका छन् ।
दुवै देशबीच साझा संस्कृति भएकोले दुबै देशको सम्बन्ध आम स्तरमा बुझिएको रोजी रोटीको सम्बन्ध भन्दा माथि रहेको उनले बताए । भारतको विकास प्रणालीबारे बोल्दै बक्ता अम्बेकरले भने, ‘भारतको विकास प्रणाली भनेको आफूसँगै साना–ठूला देशको पनि सँगसँगै विकास गर्दै लैजाने नीति छ ।’
त्यसैगरी उनले आतंकवादको कालो छायाँ दुनियाभर फैलिएको बताउँदै भारतको आतंकवाद विरूद्धको लडाईंमा नेपालको समर्थनको चर्चा र प्रशंसा पनि गरेका छन् ।
उक्त कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान, नेपालका प्रवन्ध निर्देशक दीपक कुमार अधिकारीले कार्यक्रमको औचित्वको बारेमा प्रष्ट पारेका थिए भने प्रतिष्ठानकी महासचिब नलिनी ज्ञवालीले कार्यक्रमको समापन गरेकी थिइन् ।
झन्डै २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी केन्द्री य अनुसन्धान ब्यूरोको पुर्व प्रमुखहरुको साथमा देशको वरिष्ठ समाजसेवी, कुटनीतिक व्यक्तित्व, राजनीतिज्ञ, पत्रकार, कानुनविद, डाक्टर, इन्जिनियर, कलाकार, साहित्यकार, प्राज्ञिक व्यक्तित्व तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।