arrow

सरकारको इशारामा बार चल्दैन – नवनिर्वाचित बार अध्यक्ष श्रेष्ठ

न्यायपालिकामा राजनीति हुन दिन्न, ‘हाम्रो र राम्रो’ हैन कि ‘राम्रो हाम्रो’ हुनेछ

logo
प्रकाशित २०७५ चैत २२ शुक्रबार
chandeshwor-shrestha-bar-association.JPG

काठमाडौं । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठले बार सरकारको ईशारामा नचल्ने स्पष्ट पारेका छन् । 

उनले नेपाल बारलाई माथि लैजानका लागि सम्पूर्ण कानुनी व्यवसायीसंग सल्लाह गरेर सुझाव लिएर थप व्यवसायी बनाउन लाग्ने बताएका छन् । 

उनले गुण र दोषको आधारमा अगाडि बढ्ने भन्दै बेन्चलाई बारको सहयोग चाहिने पनि स्पष्ट पारे । उनले गुण र दोषकै आधारमा बेन्चलाई सहयोग गर्ने पनि बताएका छन् । 

श्रेष्ठले विधिको शासन अन्तर्गत रहेर बारले सरकारलाई सहयोग गर्ने पनि उनले बताएका छन् । 

विधिको शासन उल्लंघन गरे बार त्यसको विरुद्धमा जाने भन्दै उनले बार सरकारको गोटी नबन्ने बताएका छन् । 

श्रेष्ठले निर्वाचनमा प्रतिस्पर्धा भए पनि सेवाग्राहीलाई न्याय दिनका लागि र हकहितमा लड्नका लागि सबै कानुन व्यवसायी एक भएर अगाडि बढ्ने बताएका छन् । 

न्यायपालिकामा चलखेल हुने र अन्याय हुने कामहरु यदाकता भए पनि जनताको आस्थामा कतै पनि कमी आउन नदिनका लागि बारले भूमिका खेल्ने पनि अध्यक्ष श्रेष्ठले बताए । 

बार व्यवसायीक आधारमा चल्ने भएकाले सरकारको इच्छामा नचल्ने उनले बताए । उनले राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति हुनु हुँदैन भन्नेमा अडिक रहेको पनि स्पष्ट पारे । 

‘हाम्रो र राम्रो’ हैन कि ‘राम्रो हाम्रो’ हुनेछ भन्दै न्यायपालिकामा राजनीतिकरण हुन नदिने पनि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । 

राम्रो मान्छेलाई सबैले उत्साह दिनुपर्ने र नराम्रोलाई निरुत्साहित गर्ने तथा बारले खवरदारी गरिरहने उनले बताए । 

न्यायपरिषद विवादमा आएको भन्ने जनाउ आए पनि विवादमा पर्न नदिन आफूहरु एक ढिक्का भएर लाग्ने पनि श्रेष्ठले बताएका छन् । 

बारको निर्वाचनमा प्रगतिशील समूहले शानदार जित हासिल गरेको छ । लोकतान्त्रिक समूहले महासचिव र प्रदेश ५ बाट एक सदस्यमात्र जितेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ