भूमरी पीडितलाई भेट्न दुनियाँ गयो तर गएनन् आफ्नै नगरपालिकाका मेयर, व्यस्त गाडी हुइँक्याउनमा
मुकेश यादव,
प्रकाशित २०७५ चैत २३ शनिबार
201
Shares
बारा । बारा र पर्सामा आइतबार राति आएको भूमरी (हावाहुरी) को बितण्डाले मनवीय क्षति सहित अर्बौंको नोक्सानी भएको छ ।
हावाहुरीबाट पीडितहरूको घाउमा मल्हम लगाउन राहत सामग्रीसहित सहयोग गर्न मुलुकसहित छिमेकी राष्ट्र भारतबाट समेत आए तर आफ्नै नगरपालिकामा भएको पीडितको अवस्थासमेत बुझ्न नगएपछि बाराको पचरौता नगरपालिकाका मेयर रमेश यादवसंग स्थानीयहरू असन्तुष्ट बनेका छन् ।
मुलुकका विभिन्न स्थानबाट बारामा हावाहुरीबाट पीडितहरूको अवस्था बुझ्न आइरहंदा नगरपालिकाको कार्यालय भन्दा एक किलोमिटरको दुरीमा रहेका वडा नं ७ को बेनौलीमा पीडितहरूको अवस्था बुझ्न अहिलेसम्म गाउँमा पुग्न सकेका छैनन् ।
त्यति मात्र नभई मेयर यादवले केही पनि राहत सामग्री समेत बाँड्न सकेका छैनन् । आफ्नो नगरपालिकाका जनता दुःखमा रहेको बेला स्थानीय जनताहरूको अवस्था बुझ्न नगई मेयर यादवले करिब ६५ लाखको गाडीमा तेल हाल्दै आफुसंग केही व्यक्ति बसाई गाडी हुइँक्याउनमा नै मस्त रहेका छन् ।
मेयर यादवले नगरपालिकाको स्रोत साधनलाई दुरुपयोग गर्दै घुमघाम गर्नमा मात्र तल्लीन रहेको तर संकट परेको बेला पनि अवस्था बुझ्न नआएको स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन् ।
हावाहुरी आएपछि घरमा बसिरहेका बेला घर भत्कियो र आफ्नो बायाँ हांत भाचियो तर अहिलेसम्म यहांका मेयरले केही पनि राहत लिएर नआएको पचरौता नगरपालिका ७ का ६६ वर्षिय राजबलम राउतले भने आफू भारत विहारको छौडादानो गएर उपचार गराएर आएपछि मात्र तेस्रो दिन मेयर यादवले गाडी सहित केही आफ्नो मान्छे पठाएर तपाईको ठूलो ईतिहास बनाइदिने भन्दै ब्यान्डेज सहित कलैया लगे ।
कलैया लगेर फेरि मेयरका मान्छेहरूले घर पुर्याएर गए तर राहत लिएर अहिलेसम्म नआएको पीडित राउतले भने, ‘गांउमा आएर आफ्नो दुई जना व्यक्तिलाई राहत बांडेर गए मलाई राहत पनि दिएनन् ।’
वडा नं ७ मा ८५ घरमा पुर्ण र आंशिक रूपमा हावाहुरीको वितण्डाले क्षति पुर्याएको र केही व्यक्तिलाई घाइते बनाएपनि नगरपालिकाका मेयर यादवले पिडितहरूको अवस्था बुझ्न र राहत समेत नबांडेको वडा नं ७ का वडा अध्यक्ष दिनानाथ सहनीले बताए ।
आफ्नो वडामा दातृ निकाय, विभिन्न संघ संस्थाहरूले पिडितहरूको अवस्था बुझदै राहत बांडेर गए र राहत लिएर आउने क्रम जारी रहेको तर मेयर यादवले केही पनि नगरेपछि आफ्नो मन साह्रै पिरोलिएको वडा अध्यक्ष सहनीले गुनासो गरेका छन् ।