arrow

गृहमन्त्रीको दावीः अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता

logo
हाम्रा कुरा
प्रकाशित २०७५ चैत २४ आइतबार
badal_new.JPG

पोखरा । गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । गण्डकी प्रदेशमा जारी दुई दिने सुरक्षा गोष्ठीका क्रममा आएका गृहमन्त्री थापाले आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए । 
     
 संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएकाले यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताए ।
     
 प्रदेश प्रहरी ऐन छलफलका क्रममा रहेका र संसदको अर्को अधिवेशनले यसलाई पारित गर्ने उनले जानकारी दिए । सरकार गठन भएको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसबीचमा विकासका पूर्वाधार निर्माणका साथै नीतिगत र संरचनागतरुपमा काम भएको बताए ।
     
 उनले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएकाले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको बताए । विप्लब समूह शान्ति सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई पनि मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताए ।

 उक्त समूहका असंबैधानिक र गैरकानुनी गतिविधिलाई प्रतिबन्ध गरिएको बताउँदै उनले संविधान र कानुनले नै त्यस किसिमका गैरकानुनी गतिविधिमा प्रतिवन्ध लगाएको स्पष्ट पारे ।



नयाँ