राष्ट्रिय अपाङ्ग महासंघको निर्वाचनः नेतृत्व लिनेमा केसी विश्वस्त, यस्तो छ प्रतिवद्धता
प्रकाशित २०७५ चैत २४ आइतबार
314
Shares
विराटनगरमा । राष्ट्रिय अपांग महासंघको महाधिवेशन सोमबार र मंगलबार विराटनगरमा हुँदैछ । यस चुनावी महाधिवेशनमा आफूले जित्ने दावी लोकतान्त्रिक प्यानलका अध्यक्षका प्रत्यासी गणेश केसीले गरेका छन् ।
उनले सरकारले गलत कामहरु गरिरहेकाले आफूलाई जित्न सजिलो हुने दावी गरेका छन् । उनले भने, ‘सरकारले अपांगता भएकाहरुका हक छिन्दै गएको छ । कम्युनिष्ट साथीहरु आफ्नै सरकार भएकाले मुद्दा उठाउन पनि डराइरहनु भएको छ । तर मलाई सजिलो छ । म उठाउँछु ।’
उनले सरकारले अपांगता भएकाहरुको एजेन्डा नै हटाएकाले यसमै लड्ने प्रतिवद्धता जनाएका छन् ।
नयाँ ऐनमा सरकारी कार्यालयमा ५ प्रतिशत भएका अपांगताको कोटा घटाएर तीन प्रतिशतमा झारिएको भन्दै नेता केसीले यसलाई जोडतोडले मुद्दा बनाएर आन्दोलनमा होमिने बताएका छन् ।
सामाजिक सुरक्षा भत्ता कम गरेको र अपांगता भएकालाई प्राथमिकतामा नराखिएको भन्दै त्यसलाई आफू नेतृत्वमा गएपछि कुनै पनि हालतमा प्राथमिकतामा पार्ने दावी उनले गरेका छन् ।
प्रत्यासी केसीले स्थानीय तहदेखि नै अपांगता भएका व्यक्तिहरु महासंघमा समेटिन नसकेकाले वृहत कार्यक्रम ल्याउने समेत आश्वासन दिएका छन् ।