विप्लवका कार्यकर्ता भित्राउदै प्रचण्डले भने- ढिलो चाँडो चन्द पनि यही प्रक्रियामा आउँछन्
प्रकाशित २०७५ चैत २६ मंगलबार
874
Shares
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ढिलो चाँडो नेत्रविक्रम चन्द ‘ विप्लव’ पनि यही राजनीतिक मूलधारमा आउनै पर्ने बताएका छन् ।
अध्यक्ष दाहालले भने “ढिलो चाँडो विप्लव जी पनि यही प्रक्रियामा आउनै पर्छ । त्यसको कुनै विकल्प छैन ।” आफ्नै निवास खुमलटारमा चन्द समूहका नेता तथा कार्यकर्तालाई आज नेकपामा प्रवेश गराउँदै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रामा अगाडि जानुको कुनै विकल्प नभएको बताए ।
अध्यक्ष दाहालले भने, “कम्युनिस्ट आन्दोलनको हितमा, राष्ट्र र जनताको हितमा हामी आफैले लडेर जे उपलब्धि हासिल गरेका छौँ त्यसको रक्षा गर्ने, त्यसमा टेक्ने र समाजवादतिर जानुको विकल्प छैन ।”
अध्यक्ष दाहालले चन्द समूहबाट नेकपामा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई क्षमता, योग्यताअनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाए । सो अवसरमा चन्द समूहका काठमाडौँमा क्रियाशील २० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।
चन्द समूहका काठमाडौँका नेता साङ्गे लामा, आदर्श केसीलगायतले प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै नेकपामा आवद्ध भएर समाजवादको यात्रामा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।