जीप दुर्घटनामा कांग्रेस पूर्वसांसद सहित तीन जनाको मृत्यु
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ चैत २८ बिहिबार
702
Shares
पाल्पा । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १ च्यानडाँडामा विहिबार विहान जीप दुर्घटना भएको छ । दर्लिनबाट बुटवल आउदै गरेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ७२ वर्षीय नेपाली कांग्रेसका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक, मालिका गाउँपालिका वडा २ की वर्ष २६ की कोशिला थापाको मृत्यु भएको हो । मृतक पूर्वसांसद भण्डारी र बालक विकको घटनास्थलमै र थापाको उपचारका लागि पाल्पा ल्याउदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी निरिक्षक रबीन्द्र बहादुर खड्काले जानकारी दिए । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । जीपमा १० जना सवार थिए । दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।
यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ । जीप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल बाग्लुङको सिमानामा पर्दछ ।