arrow

प्रधानमन्त्रीज्यू तुइन विस्थापनको कुरो कता पुग्यो ? भन्नेले भनेनन् कि गर्नेले गरेनन् ? 

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको गुनासो

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
Tuin.jpg.jpeg

जाजरकोट । नेपालमा दुई वर्षभित्र तुइन विस्थापित गर्छु भनेर उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो कार्यकाल प्रधानमन्त्रीको पद खाए पनि तुइन भने विस्थापित गर्न सकेका छैनन् । उनले आइतबार मात्रै सरकारले २०७५ सालमा गरेका कामको फेहरिस्त सुनाउँदा पनि तुइनको कुरा चुहाउन सकेनन् । 

उनले २०७२ सालको असोजमा पहिलो पटक प्रधानमन्त्री हुँदाकै दिन तुइन विस्थापित गर्ने बताएका थिए । तर तुइन अझै छन् । पीडितहरु तुइनमै झुण्डिन वाध्य छन् । 

लोकतन्त्र सरकारलाई आयो तर पीडित गाउँलेलाई आएन जो तुइनमा झुण्डिरहेका छन् । 

त्यस्तै भएको छ दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा पनि । अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।     
     
नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जान्छिन् । तुइनमा झुण्डिएर जाँदा यहाँलाई बाँचिन्छ, कि बाँचिदैन, भन्दै मनमा डरले सातो जाने गरेको छ । 

बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर घर्ती र अमर पुनलगायत स्थानीय तुइनको भरमा नदी वारपार गरी बजार आउजाउ गर्न बाध्य छन् । ठूलाबगरका स्थानीयका लागि सदरमुकाम खलङ्गा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन चढ्नै पर्ने बाध्यता छ ।     
     
 उनीहरु मात्र हैन । वर्षौंदेखि सयौँ स्थानीय तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । आठवीसकोट नगरपालिका–१४ का सिर्जना आधारभूत विद्यालयका शिक्षक ज्ञानबहादुर घर्तीले भने, “ ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका १०० घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न बाध्य हुनुपरेको छ ।”   

त्यस्तै पश्मिरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् । स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुण्डिएर १०० मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ । 

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ ।     
     
 भेरी नदीमा पुल बनाई दिन विभिन्न निकायमा पटक पटक आग्रह गरे पनि राजनीतिक पहँुच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठूलाबगरवासीको गुनासो छ ।     
     
 उता नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा रहेको नगरप्रमुख टेकबहादुर रावलले बताएका छन् । वडा नं १ को ठूलाबगर र वडा नं ८ मैदे मालुवातरामा तुइन सञ्चालनमा छन् । 

पुल बनाउन नगरको बजेटले नभ्याउने हुँदा सङ्घीय सरकारसँग माग गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको नगरपालिकाले जनाएको छ । (राससको सहयोगमा)    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ